काठमाडौं । ग्रेटवाल मोटर्सको सब–ब्राण्ड हाभलले उत्पादन गरेको कम्प्याक्ट एसयूभी जोलायन हाइब्रिड इन्जिनमा चीन र अष्ट्रेलिया लगायतका बजारमा उपलब्ध छ ।
कम्पनीले गतवर्षको सेप्टेम्बर महिनामा यसको आधिकारीक बिक्री सुरु गरेको भएपनि नेपाल भने अहिलेसम्म आएको छैन । नेपालमा ग्रेटवाल मोटर्सको आधिकारीक बिक्रेता भिजी इम्पेक्सले नेचुरल्ली एस्पीरेटेड इन्जिनमा भने जोलायन उपलब्ध गराउँदै आएको छ ।
अष्ट्रेलियन बजारमा बिक्री हुने हाभलका उत्पादन नेपाल आउने क्रम बढिरहेको समयमा आगामी नाडा अटो शो २०२३ मा जोलायन हाइब्रिड मोडल नेपालमा उपलब्ध हुन सक्ने कम्पनी स्रोतले जनाएको छ ।
जोलायन हाइब्रिडमा १.५ लिटर, फोर सिलिण्डर, पेट्रोल इन्जिनको साथमा इलेक्ट्रीक मोटर दिइएको छ । उक्त इन्जिनले अधिकतम ९४ हर्सपावर तथा १२५ न्यूटन मिटरको टर्क प्रदान गर्छ । त्यस्तै यसको इलेक्ट्रीक मोटरको पावर भने १४८ हर्सपावर तथा टर्क २५० न्यूटन मिटर रहेको छ । दुबै मोटर मिलाएर अधिकतम १८६ हर्सपावर र ३७५ न्यूटन मिटरको टर्क पाउन सकिन्छ ।
कम्पनीले यसमा मात्र १.६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । एसयूभीमा रहेको हाइब्रिड सिस्टम ‘प्लगइन’ होइन । यसको ब्याट्री बाहिरी बिजुलीबाट चार्ज गरिरहनु पर्दैन । यसमा रहेको ब्याट्री रिजेनेरेटीभ ब्रेकिङ सिस्टमको सहयोगमा आफै चार्ज हुन्छ ।
सडक र आवश्यकता अनुसार इलेक्ट्रीक र पेट्रोल इन्जिनले काम गर्ने भएकोले यो एसयूभी ५ लिटर पेटोलमा सहजै १०० किलोमिटर गुडाउन सकिन्छ । अर्थात् प्रति लिटर पेट्रोलले २० किलोमिटर माइलेज दिन्छ ।
जोलायनको पेट्रोल मात्रको माइलेज भने ८.१ लिटरले १०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । जसको औषत माइलेज प्रतिलिटर १२.३५ किलोमिटर रहेको छ ।
यो हाइब्रिड सिस्टम भारतमा बनेका मारुती सुुजुकी ग्राण्डभिटारा र टोयोटा र्याभफोरमा सफलता पूर्वक प्रयोग भइसकेको छ ।

