टोयोटाको नयाँ क्रसओभर नेपाल आउँदै, कम मूल्यको प्रिमियम मोडल बन्ने

काठमाडौं । टोयोटा नेपालको लागि प्रिमियम ब्राण्ड मानिन्छ । विश्वभर मास मार्केट ब्राण्ड भएपनि सरकारले लगाएको राजस्वको कारण नेपालमा धेरै मूल्य तिर्नु पर्दा प्रिमियम भएको हो ।

मूल्य बाहेक पनि गुणस्तर, सुरक्षा र टिकाउपनमा टोयोटा अब्बल ब्राण्ड मानिन्छ । विगत ५८ वर्षदेखि टोयोटा नेपाली बजारमा उपलब्ध गराउँदै आएको बैद्ययज् अर्गनाइजेशन अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ क्रसओभर मोडल नेपाल ल्याउने तयारी थालेको हो ।

आगामी फेब्रअरीमा नेपाल आउने अनुमान गरिएको नयाँ यारिस क्रसओभर एक प्रिमियम मोडलको रुपमा आउने छ । अहिले बजारमा रहेका चल्तीका मोडलहरु बराबरकै साइजमा आउने यारिस क्रसओभर कति मूल्यमा आउँछ, त्यो भने एकिन जानकारी प्राप्त भएको छैन । तर, यसको मूल्य कोरोला क्रसभन्दा कम हुने अनुमान गर्न सकिन्छ ।

नयाँ यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

कम्पनीले यारिस क्रसलाई फिचर लोडेड बनाएर बजारमा ल्याउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएको क्रसओभर मोडलमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ ।

दुई भेरियन्टमा उपलब्ध यारिसको इन्ट्री लेभलको स्मार्ट भेरियन्टमा १७ इन्चको ह्वील र प्रिमियम भेरियन्टमा १८ इन्चको डिउल टोन ह्वील दिइएको छ । ड्यास बोर्डमा ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एन्ड्रोइड अटो र एप्पल कार प्ले सहितको १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ ।

टोयोटाले यारिस क्रसओभर मोडलमा इलेक्ट्रिक पार्किङ ब्रेक, अटोमेटीक एसी, रियर एसी भेन्ट, ६ स्पीकर सहितको अडियो सिस्टम र १४ कलरको एम्वीयन्ट लाइट दिएको छ ।

नयाँ मोडलमा ८ वे पावर इलेक्ट्रीक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनीक कर्टेन, किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ ।

टोयोटा यारिस क्रसमा १.५ लिटरको चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन दिइएको छ । हाइब्रिड पावरट्रेन भएकोले यसमा इलेक्ट्रीक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ ।

सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, फ्रन्ट डिपार्चर अलर्ट, पेडल मिसोपेरेसन कन्ट्रोल, ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरीङ सिस्टम, ३६० डिग्री क्यामेरा जस्ता आधुनिक फिचर लोडेड भएर आउने छ ।


Back_to_top