काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङ नेपाल आउने पक्का भएको छ । सिजी मोटर्सले एक्सपेङको आधिकारीक बिक्रेताको जिम्मेवारी पाएको हो ।
नेपाल आउने भएसँगै यसको सम्भावित मोडल कुन होला भन्ने चासो हुनु स्वभाविक हो । किन भने सबै चिनियाँ कम्पनीले ल्याउने मोडलहरु राइट ह्याण्ड ड्राइभमा आउँछन् भन्ने हुँदैन । त्यसैले सिजीले कुन मोडल पहिला नेपाल ल्याउला भन्ने चासो हुनु स्वभाविक हो ।
एक्सपेङको नेपाल आउने पहिलो मोडल ‘जी-सिक्स’ हुने लगभग पक्का भएको छ । कम्पनीले आफ्नो लाइनअपमा रहेका एसयूभी मध्ये सबैभन्दा पहिला जी-सिक्सलाई राइट ह्याण्ड ड्राइभमा ल्याउने भएको हो ।
एक्सपेङले वेलायतमा पहिलो राइटह्याण्ड ड्राइभ मोडल जी-सिक्सको टेष्ट गरिसकेको छ । टेस्लाको मोडल बाईसँग प्रतिस्पर्धा गर्ने एक्सपेङको जी-सिक्समा ६६ किलोवाट आवर र ८७.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । कम्पनीका अनुसार जी-सिक्सको रेन्ज ५८० र ७५५ किलोमिटर रहेको छ ।
‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-सिक्स ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो । यसले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्छ ।
यसमा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलीमिटर वेभ रडार, अल्ट्रासोनीक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको छ ।

एसयूभीको लम्बाई ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ह्वील पनि १८ र २० इन्चको अप्सन दिइएको छ । एरोडाइनामीक्सलाई ध्यानमा राखेर निर्माण भएको जी–सिक्सको ड्रयाग कोफिसीयन्ट ०.२४८ सीडी रहेको छ ।
बडिस्ट्रक्चरको फ्रन्ट र रियरमा आल्मुनीयम कास्ट इलीमेन्टस्को प्रयोग भएकाले यो ईभी ८३ प्रतिशत बढि रिजीडीटी पाउन सकिन्छ । यसको क्यावीन क्लीन डिजाइनको छ ।
टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम छन् ।
कम्पनीले जी-सिक्समा २१८ किलोवाटका सिङ्गल मोटर रियर ह्वील ड्राइभ र ३५८ किलोवाटको ड्यूल मोटर अलह्वील ड्राइभ सिस्टम दिएको छ । यसको अधिकतम टर्क ६६० न्यूटन मिटरसम्म छ ।

