नेपालमै बनेका हिरोका मोटरसाइकल आइतबारबाट बिक्री सुरू हुँदै, यस्तो छ नयाँ मूल्य

काठमाडौं । सीजी मोटर्सले हिरोका मोटरसाइकल आगामी आइतबारदेखि बिक्री सुरू गर्ने भएको छ ।

सीजी मोटर्सले हिरोको डिलरशिप लिएसँगै वैशाख ९ गतेदेखि नेपालमा पुनः हिरोको मोटरसाइकल बिक्री सुरू हुने भएको हो । कम्पनीले सोदिनदेखि ४ मोडलका मोटरसाइकल डेलिभरी सुरू गर्ने भएको छ ।

कम्पनीले यसअघि वैशाख ३ गतेदेखि बिक्री सुरू गर्ने भने पनि प्राविधिक कारणले ढिलाइ भएको थियो । कम्पनीले वैशाख ३ गते नवरपरासीको सीजी धामबाट मोटरसाइकल तथा स्कुटर अनावरण गरेको थियो ।

सीजीले हिरोको डिलरशिप लिएसँगै एक नयाँ मोडलको स्कुटर पनि ल्याउने भएको छ भने अन्य तीन मोडलका मोटरसाइकलको बिक्री सुरु गर्ने भएको छ । कम्पनीले हाल बुकिङ लिइरहेको मोटरसाइकल आइतबारदेखि नै डेलिभरी सुरू गर्ने बताएको हो ।

सीजी मोटर्सले हिरोका मोटरसाइकलहरुको मूल्य केही घटाएर बिक्री सुरू गर्ने तयारी गरेको छ । मेरोअटोले प्राप्त गरेको सूचना अनुसार सुपर स्प्लेन्डरको मूल्य २६ हजार रुपैयाँले घटाएर बिक्री सुरू गर्न लागेको हो । यसअघि २ लाख ६६ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको सुपर स्प्लेन्डरको मूल्य २ लाख ४० हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गर्न लागेको हो ।

सीजीले सार्वजनिक रुपमा अहिलेसम्म मूल्य बाहिर ल्याएको छैन । यही मूल्यसूचीका आधारमा डिलरहरूले बुकिङसमेत लिन थालेका छन् ।

कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीका अनुसार एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार ९०० रुपैयाँ तोकेको छ । यसअघि एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५२ हजार ५०० रुपैयाँ रहेको थियो । एक्सपल्स २०० फोर भी पहिलेभन्दा २ हजार सस्तो भएको छ ।

त्यस्तै, कम्पनीले जुम स्कुटर पनि दुई भेरियन्टमा नेपाल ल्याउने छ । त्यसको मूल्य भीएक्स भेरियन्टको २ लाख ४९ हजार ९०० रुपैयाँ र जेडएक्स भेरियन्टको २ लाख ५९ हजार ९०० रुपैयाँ हुनेछ ।


Back_to_top