काठमाडौं । टाटा मोटर्सले अटो एक्स्पो २०२३ मा देखाएको ह्यारियर ईभीको परीक्षणलाई तिब्रता दिएको छ । कम्पनीले सन् २०२५ मार्चमा बजारमा ल्याउने गरी यसको सडक परीक्षण गरिरहेको हो ।
कम्पनीले ‘इनभेष्टर डे’मा नयाँ ह्यारियर बजारमा आउने मिति मार्च उल्लेख गरेको छ । टाटाले ह्यारियर ईभीभन्दा अगाडि कर्भ ईभी बजारमा ल्याउने छ । आउँदै गरेको चाडपर्वको अवसरमा कर्भलाई बजारमा उतार्ने अनुमान गरिएको छ ।
टाटाले पन्च र कर्भ ईभी जस्तै ह्यारियरलाई पनि ‘एक्ट ईभी आर्किटेक्चर’मा निर्माण गर्नेछ । तर, यसको प्लेटफर्म भने पेट्रोलियम (आइसीइ) इन्जिन भएको ह्यारियर बनेको ल्याण्डरोभरको ‘ओमेगा’ प्रयोग गर्नेछ । तर, यसलाई ईभीका कम्पोनेन्टहरु सपोर्ट गर्नेगरी तयार गरिएको छ ।
नयाँ ह्यारियर ईभीमा फ्ल्याट फ्लोरका साथै भीटुएल र भीटुभी चार्जिङ फिचर समेत रहनेछ । अहिलेसम्म कम्पनीले बाहिर नल्याएपनि ह्यारियरमा ६० किलोवाट आवरको ब्याट्री प्याक प्रयोग हुने अनुमान गरिएको छ ।
कम्पनीले ह्यारियर ईभीलाई सिंगल मोटर र ड्यूल मोटर सेटअपमा ल्याउने यसअघि नै जानकारी दिएको थियो । यसको अधिकतम रेन्ज ५०० किलोमिटर हुने अनुमान गरिएको छ ।
ह्यारियर ईभीमा नयाँ डिजाइनको फ्रन्ट र रियर बम्पर, क्लोज अफ ग्रिल, कुपे रुफलाइन प्रयोग हुनेछ । यसको इन्टेरियरको बारेमा खासै जानकारी बाहिर आएको छैन ।
विद्युतीय कार उत्पादन र बिक्री वितरणमा अलगै पहिचान निर्माण गरेको टाटा मोटर्सले अभिन्या र सफारी मोडललाई पनि विद्युतीय बनाउने छ । अझ अभिन्यालाई प्रिमियम मोडलकै रुपमा ल्याउने जानकारी बाहिर आएको छ ।


