काठमाडौं । बीवाइडी नेपालीमा परिचित ब्राण्ड नेम हो । अझ इलेक्ट्रीक भेहिकलमा रुची भएका ब्यक्तिले विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादकको विषयमा जानकारी राखेकै हुन्छन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा सर्वाधिक बिक्री भएको बीवाइडी एटो-थ्री एड्भान्स र सुपेरियर गरी दुई भेरियन्टमा बिक्री भइरहेको छ । अहिले बजारमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध एटो-थ्रीको मूल्य ५६ लाख ९० हजार रुपैयाँ छ ।
त्यसैगरी बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले ६०.४८ किलोवाट अवारको क्षमताको ब्याट्री भएको सुपेरियर मोडललाई ६७ लाख ८० हजार मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

हिजोबाट सुरु भएको नाडा अटो शो २०२४ मा साँग्रिला मोटर्सले नयाँ ईभी ब्राण्ड लिप मोटर लन्च भएको छ । चिनियाँ स्टार्टअप इलेक्ट्रीक कम्पनी लिप मोटरमा युरोपियन अटोमोवाइल ग्रुप स्टेलान्टीसले सहकार्य गरेपछि अन्तर्राष्ट्रिय बजारमा लिप मोटरका ईभीहरु बिक्री हुन थालेका छन् ।
नेपाली बजारमा पनि स्टेलान्टीसको सिट्रोन ब्राण्डका गाडीहरु बिक्री गर्दै आएको साँग्रिला मोटर्सले लिपका उत्पादन ल्याएको हो । कम्पनीले नाडा अटो शोमा लन्च गरेको मोडल सी-१० एसयूभी हो । कम्पनीले उक्त एसयूभीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोेकेको छ ।
लगभग समान मूल्य भएको बीवाइडी एटो-थ्री सुपेरियर र लिप मोटरको सी-१० का बीचमा रहेका भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
साइजमा फरक
लिप मोटरको सी-१० को साइज निकै ठूलो रहेको छ । यो एसयूभीको लम्बाई ४७३९ एमएम, चौडाई १९०० एमएम तथा उचाई १६८० एमएम रहेको छ । सी-१० को ह्वीलवेस २८२५ एमएमको छ ।

कम्पनीले सी-१० मा २० इन्चको ह्वील तथा १९० एमएमको ग्राउण्ड क्लियरेन्स दिएको छ । यसको कर्भवेट १९८० केजी तथा ४३५ लिटरको बुटस्पेश पाउन सकिन्छ ।
बीवाइडी एटो-थ्रीको लम्बाई ४४५५ एमएम, चौडाई १८७५ एमएम र उचाई १६१५ एमएम छ । यसमा ह्वीलवेस २७२० एमएम लामो छ । एटो-थ्री सुपेरियरमा १८ इन्चको ह्वील तथा १७५ एमएमको ग्राउण्ड क्लियरेन्स छ । यसको कर्भवेट १७५० केजीको रहेको छ ।
मोटर र ब्याट्री साइज
लिप मोटरमा १६० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । उक्त मोटरले २१५ हर्स पावर र ३२० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । लिप मोटर सी-१० को टप स्पीड क्षमता १७० किलोमिटर प्रतिघण्टा छ । यसलाई ७.५ मिनेटमा सून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडाउन सकिन्छ ।
त्यसैगरी बीवाइडी एटो-थ्री सुपेरियरमा १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यो मोटरले १३४ हर्सपावर तथा ३१० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो ईभीलाई १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न १०.१ सेकेण्ड लाग्छ ।

बीवाइडी एटो-थ्री सुपेरियरमा ६०.४८ किलोवाट अवारको एलएफपी ब्लेडब्याट्री छ । यो ब्याट्रीले एक पटकको फुल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ । एटो-थ्री सुपेरियरलाई ८० किलोवाट आवरको फास्ट चार्जरले ३५ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । यसमा युरोपियन स्ट्याण्डर्डको सीसीएस टु चार्जिङ पोर्टका साथै भेहिकल टु लोड सुविधा समेत छ ।
सी-१० मा ६९.९ किलोवाट अवारको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ । पीटीसी हिटीङ तथा लिक्वीड कुलिङ सहितको उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।
यसमा रहेको ब्याट्रीलाई डीसी फास्ट चार्जरले जम्मा ३० मिनेटमै ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । युरोपियन स्ट्याण्डर्डको सीसीएसटु चार्जिङ पोर्ट रहेको ईभीमा भेहिकल टु लोड फिचर पाउन सकिन्छ ।
फिचर
लिप सी-१० को एक्सटेरियरमा क्लोज अफ ग्रिल, एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, पानारोमिक ग्लासरुफ, पावर टेलगेट, रियर प्राइभेसी ग्लास, एनएफसी कि, हिडन डोर ह्याण्डल जस्ता फिचर छन् ।
यसको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड फ्रन्ट सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, मल्टी ड्राइभ मोड, हिटेड स्टेरिङ जस्ता प्रिमियम फिचर छन् ।

१०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको सी-१० मा वायरलेस चार्जर, १२ वटा स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम दिइएको छ । यस भित्र झण्डै दुई दर्जन सेफ्टी फिचर छन् ।
त्यसैगरी बीवाइडी एटो-थ्रीको इन्टेरियर फिटनेस र म्यूजिकको थिममा तयार परिएको आकर्षक इन्टेरियर रहेको छ । यसमा मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एनएफसीकि, लेदर सिट, फोल्डिङ रियर सिट, पावर टेलगेट दिइएको छ ।

चालकको सिट ६ तरिकाले मिलाउन मिल्ने छ । आइएसओ फिक्स चाइल्ड सिट, एम्बीयन्ट लाइट, मल्टी ड्राइभ मोड, प्यानारोमिक सनरुफ, १४.६ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस मोवाइल चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ ।
सेफ्टी फिचर
बीवाइडी एटो-थ्रीमा ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओपन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट, ३६० डिग्री क्यामरा लगायतका फिचर्स समावेश रहेका छन् । यस ले युरोपियन तथा अष्ट्रेलियन एनक्यापमा ५ स्टारको सेफ्टी रेटिङ पाएको छ ।

लिप मोटरको सी-१० मा ६ वटा एरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल, ट्राफिक जाम असिस्ट, फरवार्ड एण्ड रियर कोलुजन वार्निङ, एड्भान्स इमेर्जेन्सी ब्रेक, ब्लाइण्ड स्पट डिटेक्सन पाउन सकिन्छ ।
ह्याण्ड्स अफ डिटेक्सन, लेन किम तथा लेन डिपार्चर वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, इन्टेलिजेन्ट स्पीड असिस्ट, ड्राइभर डाउजीनेस एटेन्सन वार्निङ, एड्भान्स ड्राइभर डिस्ट्रयाक्सन वार्निङ, ३६० डिग्री भ्यु क्यामरा आदि जस्ता अत्याधुनिक सुरक्षा फिचर रहेका छन् । लिपमोटरको सी१० ले युरो एनक्याप सेफ्टी टेस्टमा ५ स्टारको रेटिङ पाएको छ ।

निष्कर्ष
मूल्यमा १९ हजारले मात्र बढि भएता पनि ओभरअल साइज, पावर र फिचरमा लिप मोटरको सी-१० उत्कृष्ट देखिन्छ । तर, नेपाली बजारमा यसलाई गुडाउन थालिएको छैन ।
बीवाइडीको एटो-थ्री पनि प्योर इलेक्ट्रीक ई प्ल्याटफर्म ३.० मा बनेको हो । त्यस्तै लिप मोटरको सी-१० पनि डेडिकेटेड लिप ३.० प्लेटफर्ममा बनेको हो ।
बीवाइडी एटो-थ्रीले आफुलाई नेपाली सडकमा उत्कृष्ट सावित गरिसकेको छ । तर, भर्खरै नेपाल आएको सी-१० ले कस्तो ब्यापार गर्छ हेर्न भने बाँकी नै छ ।

