डिजेआईको एडास सिस्टम प्रयोग भएर आउँदै ‘बीवाइडी एटो-३’

काठमाडौं । बीवाइडीले नयाँ एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) सहित आफ्नो ग्लोबल मोडल एटो-३ अपग्रेड गरेर ल्याउने भएको छ । बीवाइडीले ड्रोन उत्पादक डीजेआइसँग नयाँ एडास टेक्नोलोजी खरिद गरेर प्रयोग गर्न थालेको हो ।

अप्रिल महिनाको अन्तिमसम्ममा बजारमा आउने अनुमान गरिएको नयाँ एटो-३ मा एडास बाहेक बाहिरी डिजायनमा थुप्रै परिमार्जन हुनेछन् ।

अहिले चीनमा परीक्षणको क्रममा एटो-३ को २०२५ मोडल देखिएको छ । बाहिर आएको तस्बिर अनुसार नयाँ एटो-३ को अगाडि, बडी क्लाडिङ, ह्वील र पछाडिको भागमा परिमार्जन भएको अनुमान गर्न सकिन्छ ।

बीवाइडीले चीनको मिनस्ट्री अफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नलोजीमा बुझाएको नयाँ मोडलको तस्बिरमा पनि अगाडिको फेन्डर र बम्परमा क्यामरा जडान भएको देखिएको थियो ।

एटो-३ को फ्रन्ट बम्पर नयाँ डिजाइनको एग्रेसिभ लुक्स सहितको देखिएको छ । यसको हेडलाइट तथा ग्रील भने पहिलेकै जस्तो छ । रियरमा फ्रन्टको डिजाइन ल्याङ्वेजसँग मेलखाने नयाँ डिजाइनको बम्पर रहेको छ । यसको रुफ स्पोइलरको डिजाइन भने विल्कुलै नयाँ देखिएको छ ।

हालको मोडलमा रहेको सिंगल स्ट्रीपको रुफ स्पोइलर अब भने दुईवटा ब्रेक लाइट सहितको देखिन्छ । बीवाइडीले एक्टेरियर फिचरमा अपडेट गरे पनि इन्टेरियर फिचर तथा टेक्निकल स्पेसिफिकेसनको अपडेटका बारेमा कुनै जानकारी दिएको छैन ।

बीवाइडी एटो३ को लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम, उचाइ १६१५ एमएम तथा २७२० एमएमको ह्वीलबेस रहेको छ । यो एसयूभीमा ४९.९२ र ६०.४८ किलोवाट आवरको ब्याट्रीप्याक अप्सन रहेको छ ।


Back_to_top