काठमाडौं । विद्युतीय कारको प्रयोग बढ्दै जाँदा मासिक किस्ता रकम थोरै वा कम डाउन पेमेन्ट गरेर खरिद गर्न सक्ने कारहरु आयात हुँदै आएका छन् । मासिक किस्ता ३५ हजारभन्दा कम हुनु भनेको पेट्रोल खर्चमा थोरै रकम थपेर किस्ता बुझाउनु सरह हो ।
साना र मिनी कारको अलावा ५ ढोका र ५ सिट क्षमताका साना ईभी पनि मासिक किस्ता ३५ हजार हाराहारीमै उपलब्ध हुन्छन् । अहिले बजारमा रहेका टाटा टियागो र केई इक्यूट-०४ कम मूल्यमा उपलब्ध चार ढोका भएका कार हुन् । छिट्टै यही सेग्मेन्टमा लीपमोटरले टी-०३ मोडल पनि सार्वजनिक गर्दैछ ।

अहिलेसम्म बैंक तथा वित्तिय संस्थाहरुले ईभी किन्नेलाई २० प्रतिशत डाउन पेमेन्ट र ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउँदै आएका छन् । त्यस हिसावले २८ लाख रुपैयाँसम्म मूल्य भएका विद्युतीय कारहरु ३५ हजारभन्दा कम मासिक किस्तामा उपलब्ध छन् । यी गाडी किन्न ६ लाख रुपैयाँ तपाईको खल्तीमा भए पुग्नेछ । बाँकी रकम कर्जा सुविधा लिन सकिन्छ ।
अहिले बजारमा उपलब्ध केई इक्यूट-०४ को मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसलाई किन्दा सुरुमा ४ लाख ९९ हजार २०० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ । बाँकी रकम १९ लाख ९६ हजार ८०० रुपैयाँ बैंक तथा वित्तिय संस्थाले कर्जा सुविधा उपलब्ध गराउने छन् ।
बैंकले ८ प्रतिशत ब्याजदरमा सहजै कर्जा सुविधा उपलब्ध गराउने भएको कारण ७ वर्षसम्म मासिक ३१ हजार १२३ रुपैयाँ तिर्दा इक्यूट-०४ खरिद गर्न सकिन्छ ।

टाटा टियागो ईभी २७ लाख ५० हजारदेखि ३० लाख रुपैयाँसम्म मूल्य तोकेर बिक्री हुँदै आएको छ । कम्पनीले सानो ब्याट्री भएको टियागो ईभी अहिले उपलब्ध गराएको छैन । नत्र त्यसको मूल्य अझै कम थियो ।
सिप्रदीले बिक्री गर्दै आएको टियागो ईभीको सुरुवाती भेरियन्टको मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ । मूल्यको २० प्रतिशतले हुन आउने ५ लाख ४९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बुझाएपछि २१ लाख ९९ हजार २०० रुपैयाँ कर्जा सुविधा उपलब्ध हुनेछ ।
माथि केई इक्यूट-०४ कै जस्तो समयाअवधि र ब्याजदरमा टियागो ईभी किन्दा मासिक ३४ हजार २७८ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

लीपमोटरको टी-०३ अहिले बिक्री सुरु भएको छैन । अबको केही दिन भित्रै बिक्री सुरु हुने टी-०३ एक आकर्षक ह्याचव्याक कार हो । एडास फिचर उपलब्ध टी-०३ को मूल्य अहिलेसम्म घोषणा भएको छैन ।
आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले यसको मूल्य ३० लाखभन्दा कम हुने जानकारी दिएको छ । त्यसैको आधारमा टी-०३ को मासिक किस्ता पनि ३५ हजार रुपैयाँ हाराहारी नै हुने अनुमान गरिएको छ ।


