काठमाडौं । टाटाको नयाँ कुप्पे एसयूभी कर्भले बोइङ ७३७ बिमान तान्न सफल भएको छ । इन्धन सहित ४८ हजार केजी तौल भएको बोइङ ७३७ लाई टाटा कर्भको हाइपेरियन पेट्रोल इन्जिन भेरियन्टले तानेको हो ।
टाटाले यसअघि पनि टाटा कर्भले ४२ हजार केजी भएको तीनवटा ट्रकलाई तानेर रेकर्ड बनाएको थियो । टाटाले अहिले बोइङ नै तानेर कर्भको तागत र च्यासिसको क्षमता प्रदर्शन गरेको हो ।
टाटाको एटीएलएएस प्लेटफर्ममा बनाएको कर्भमा १.२ लिटर जीडीआई इन्जिन रहेको छ । टाटाले यसअघि पनि आफ्नो हेग्जा मोडलले बोइङ ७३७–८०० जहाज तानेर रेकर्ड बनाएको थियो । हेक्जा भने टाटाको ठूलो एसयूभी हो ।
भारतमा उत्पादन भएको कम्प्याक्ट एसयूभी टाटा कर्भले अहिले भने ४८ हजार केजीको जहाज नै तानेर रेकर्ड बनाएको हो । टाटा हेग्जामा हेबी ड्यूटी ल्याडर फ्रेम च्यासिस र २.२ लिटर क्षमताको टर्बो डिजेल इन्जिन थियो । यसको टर्क ४०० एनएम थियो ।

अहिले बोइङ तान्ने कर्भमा भने मानोकर्क चेसिस छ । यसमा १.२ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ । यसको पीक पावर १२५ पीएस र पीक टर्क २२५ न्यूटन मिटर मात्रै रहेको छ ।
टाटा कर्भको उक्त पर्फमेन्स टेस्ट तिरुवन्तपुरममा भएको थियो । उक्त टेस्टमा कर्भ हाइपेरियन म्यानुअलले एयर इण्डिया एक्सप्रेसको बोइङ ७३७ लाई १०० मिटरसम्म तानेको थियो ।

पेट्रोलियम पदार्थबाट चल्ने कर्भ नेपाल आउने वा नआउने विषयमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन । तर, कम्पनीले कर्भ ईभी भने नेपाल ल्याइसकेको छ । यसको आधिकारीक बिक्री केही समयपछि सुरु हुने सिप्रदीले जनाएको छ ।


