निसानको बहुप्रतिक्षित एसयूभी किक्स भारतीय बजारमा सूरुवाति मूल्य ९ लाख ५५ हजार भारतीय रुपैयाँबाट सुरु हुनेछ । आज (जनवरी २२) मा कम्पनीले किक्सलाई सार्वजनिक गर्दै मूल्यको घोषणा गरेको हो ।
टप भेरियन्टको मूल्य भने १४ लाख ६५ हजार रुपैयाँ रहेको छ । मूल्यका आधारमा किक्सले रेनो क्याप्चरसँग सिधा प्रतिस्पर्धा हुने भएको छ । भारतीय बजारमा रेनो क्याप्चरको एक्स शोरुम मूल्य ९ लाख ९९ हजारदेखि १३ लाख २५ हजार रुपैयाँसम्म रहेको छ । हुन्डाई क्रेटाको मूल्य र किक्सको मूल्यमा भने केही हजार रुपैयाँ मात्र रहेको छ ।
डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहने किक्समा १.५ लिटरको इन्जिन लगाइएको छ । भारतीय बजारमा किक्सको पेट्रोलमा ४ वटा तथा डिजेलमा ५ वटा गरी जम्मा ९ वटा भेरियन्टमा उपलब्ध रहनेछ । किक्सको पेट्रोल भेरियन्टले १४ किलोमिटर र डिजेल भेरियन्टले २० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।
किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ ।
किक्समा सेग्मेन्टमै पहिलोपटक ३६० डिग्री क्यामराको फिचर रहेको छ, जसलाइ टप भेरियन्लेटमा मात्र दिइएकाे छ । निसान किक्सको अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रूज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
नेपाली बजारमा पायोनियर मोटो–कर्पले निसान मोटर्सका सवारीसाधनहरू बिक्री–वितरण गरिरहेको छ । भारतमा किक्सको लन्चिङ्ग–डेट नजिकिँदै गर्दा पायोनियरले नेपाली बजारमा पनि किक्सको एक्टिभीटी सुरु गरिसकेको छ ।
पायोनियर मोटो–कर्पका असिस्टेन्ट जनरल मेनेजर ज्ञानेन्द्र चन्दकाअनुसार भारतको लन्चिङ्गसँगै नेपालमा पनि किक्सको चाँडै बुकिङ्ग खुल्ला हुनेछ । अहिले केही प्राविधिक काम भइरहेकोले अबको केही दिनमा नेपाली बजारमा सार्वजनिक गर्ने मिति र मूल्य दुबै थाहाहुने चन्दले जानकारी दिए ।
तर, हाम्रो अनुमान अनुसार यसको नेपाली बजारमा सुरुवाति मूल्य करिब ४५ लाख रुपैयाँ र टप भेरियन्टको मूल्य ६८ लाख रुपैयाँ पर्नेछ ।


