काठमाडौं । विद्युतीय सवारीसाधन सफा, चिल्ला र राम्रा सडक भएका ठाँउमा मात्रै उपयुक्त हुन्छन् भन्ने बुझाइ धेरैको छ । गाडी निर्माताहरूले पनि अहिलेसम्म धेरै ठूला र सफल अफरोड भेहिकल संख्यात्मक रूपमा बजारमा ल्याउन सकेका छैनन् ।
निजी कारमा ईभीको सफलतासँगै लाइट कमर्शियल भेहिकलमा पनि राम्रो प्रभाव पर्दै गएको छ । साना र छोटा रुटहरूमा विद्युतीय माइक्रोबसको प्रयोग व्यापक बन्दै गएको छ । अब कच्ची र अफ्ठ्यारा बाटाहरूमा चलाउन उपयुक्त इलेक्ट्रीक पीकअप पनि उपलब्ध हुन थालेका छन् ।
सीजी मोटर्सले नेपाली बजारमा उपलब्ध गराएको रेडारा आरडी-६ पीकअपको फोर ह्वील ड्राइभ मोडल हामीले टेस्ट ड्राइभ गरेका थियौं । हाम्रो टेस्ट ड्राइभले देखेका केही सकारात्मक र केही सुधारात्मक कुराहरू यहाँ प्रस्तुत गरेका छौं ।
आफरोड ड्राइभ क्षमता
रेडारा आरडी-६ फोर ह्वील ड्राइभ भएपछि हामीले पहिलो लक्ष्य नै यसको अफरोड क्षमता परीक्षण गर्ने बनाएका थियौं । त्यसको लागि शिवपुरीको धाप ड्याम हाम्रो पहिलो गन्तब्य बन्यो ।
कागेश्वरी मन्दिर हुँदै धापड्यामसम्मको अफरोड बाटोमा रेडारा चलाउन निकै सहज थियो । इको, कम्फर्ट र स्पोर्टस् मोडमा गाडी चलाउँदा टू ह्वील ड्राइभ लाग्ने रहेछ । त्योभन्दा माथि हिलो, अफरोड, ढुङ्गा भएको बाटो र पानी भएको स्थानको लागि छुट्टै मोड उपलब्ध छ । यी सबै मोड मध्ये कुनै पनि लगाउँदा गाडी फोर ह्वीलमा लाग्नेछ ।

अहिले सुख्खा मौसमा भएको कारण अफरोड ड्राइभ मोड लगाएर हामीले धाप ड्यामसम्मको यात्रा गरेका थियौं । त्यो बाहेक सबैखाले अफरोड एरियामा कम्फर्ट मोडमा यसलाई चलाएका थियौं । धाप ड्यामबाट चिसापानी हुँदै पूरै सिन्धुपाल्चोकको गाउँका अफरोडबाट प्रयोग गर्दै भोटेचौर नजिकै रहेको चिया बगान निस्केका थियौं । कुनै पनि स्थानमा यसलाई चलाएर जान समस्या थिएन । अहिलेको समयमा बाटो भएको जस्तो सुकै स्थानमा पनि यसलाई लान सकिने देखियो ।
रेडारा आरडी-६ लाई ८१० मिलिमिटर गहिरो पानी एक घण्टा डुब्दा पनि गाडीमा समस्या आउँदैन । यसको परीक्षण हामीले टेस्ट ड्राइभको दौरान गरेनौं । यसमा दिइएको २२५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स अफरोडको लागि काफी लाग्छ ।
एसयूभीमा पाइने फिचर
आजकल एसयूभीमा पाइने लग्जरी फिचर पीकअपमा पनि पाउन सकिन्छ । फरक भनेको सस्पेन्सनमा हुन्छ । एसयूभीको सस्पेन्सन नरम हुन्छ । खाल्डाखुल्डीमा गाडी पर्दा पनि बस्ने मानिसलाई खासै अफ्ठ्यारो अनुभव हुँदैन । पीकअपमा भारीसमेत बोक्नु पर्ने भएको कारण सस्पेन्स केही कडा दिइएको हुन्छ ।

यसको कार्गो स्पेशमा ७५० किलोसम्म सामान राखेर बोक्न सकिन्छ । अगाडि आरामसँग ५ जनाले यात्रा गर्न सक्नेछन् । ड्यूल कलर ड्यासबोर्डमा ठडिएको १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, पानारोमिक शनरुफ, ६ एयरब्याग, ८ स्पीकर, ब्राउन कलरको इन्टेरियर, वायरलेस फोन चार्जर जस्ता फिचरले यसलाई सुविधा सम्पन्न एसयूभीको फिल दिने पीकअप बनाएको छ ।
यसका अलावा सुरक्षा फिचरको रूपमा एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) २.० पाउन सकिन्छ । यसका सबै सिट भ्यान्टीलेड हुन् । साथै, सिटलाई बेड मोडमा पनि लान सकिन्छ ।
ब्याट्री, मोटर र रेन्ज
एक पटकमा एक हजार किलोग्राम सामान बोकेर हिँड्न सक्ने पीकअपमा अगाडि ११५ किलोवाट र पछाडि २०० किलोवाटको मोटर दिइएको छ । यसको फोर ह्वील ड्राइभमा संयुक्त पावर ३१५ किलोवाट हो । अल ह्वील मोडमा गाडीको पीकटर्क ५९५ न्यूटन मिटर रहेको छ ।

जिली ग्रुप अन्तर्गतको रेडारा ब्राण्डमा आएको आरडी-६ पीकअपमा ७३ किलोवाट आवरको आइपी ६८ रेटेड एलएफपी ब्याट्री दिइएको छ । एनइडीसीले यसको रेन्ज ४२४ किलोमिटर भनेको छ । डब्लूएलटीपीले ३५६ किलोमिटरसम्म रेन्ज आउने देखाएको छ । तर, अफरोड बाटोमा चलाएर धेरै यात्रा गर्ने हो भने ३१० देखि ३२० किलोमिटरसम्म रेन्ज पाइने हाम्रो टेस्ट ड्राइभले देखाएको छ ।
बाहिरी बनोट र केही फिचर
निकै आक्रमक डिजाइनमा तयार भएको रेडाराको फ्रन्टमा दिइएको इलुमिनेटेड लोगो रातको समयमा निकै चम्किलो देखिन्छ । किन भने लोगोमै एलईडी लाइटहरूको प्रयोग गरिएको छ । उक्त लाइटले गाडीको ओभरअल लुक्समै प्रभाव पारेको छ । फ्युचरष्टिक प्यार्टनसहितको १८ इन्चको पृथक अलोय ह्वील दिइएको छ ।
सानो भए पनि स्पेयर टायर दिइएको गाडीलाई ३.५ मिटर टर्निङ रेडिएस भए पुग्छ । यसको टर्निक रेडिएस आश्चर्य लाग्दो छ । सबै लाइट एलइडी प्रयोग भएको पीकअपको पछाडि कार्गो टो गर्ने ठाँउ दिइएको छ । कार्गो स्पेशमा जानको लागि टेलगेट स्टेप पनि पाउन सकिन्छ । अगाडि यात्रु र चालक चढ्न दिइएको फुट स्टेप त झनै नेक्स्ट लेभलको छ ।
थपिदिएको भए राम्रो हुने कुरा
फोर ह्वील ड्राइभ पीकअपमा तपाईं झ्वाट्ट बस्दा अगाडि गियर लिभर देख्नु हुन्छ । त्यसैबाट फोर ह्वील लगाउन मिल्ने बनाइ दिएको भए, शताब्दीदेखि चलिआएको फोर ह्वीलको विशेषता निरन्तरता हुन्थ्यो । मलाई पनि गाडी चलाउँदा त्यो कमी भयो ।
अर्को मस्कुलर गाडीमा कम्तीमा ३० किलोमिटर प्रतिघण्टाको स्पीड नपुग्दासम्म हल्का आवाज आउने भएको भए हुन्थ्यो । त्यसले पैदल यात्रु र बाटोमा रहेका जनावरलाई सुचित गर्न सक्थ्यो ।
पीकअपको अगाडि केही स्पेशको कमी हुन्छ । सेन्टर कन्सोलको माथिल्लो भागमा दुई वटा कप होल्डर र एउटा वायरलेस मोबाइल चार्जिङ प्याड छ । जसको कारण चालकसँग दुई वटा बावाइल छ भने तल्लो भागमा राख्नु पर्ने बाध्यता छ । यस्ता साना कुरा बाहेक अन्य फिचरले जो कोहीलाई लोभ्याउने छ ।


