फागुनमा नेपाल आएका दुई अफरोड एड्भेन्चर, कुनमा कस्ता फिचर ?

काठमाडौं । फागुन महिना लागेसँगै नेपाली बजारमा दुई नयाँ अफरोड एड्भेन्चर मोटरसाइकलको बिक्री सुरु भयो । जसमा यामाहाले डब्लूआर १५५ आर र होन्डाले एक्सआर १९० मोडल थिए ।

यामाहाले नाडा अटो शोमा देखाएर धेरै मानिसलाई कुर्ने बनाएको डब्लूआर १५५ आर मोटरसाइकलको बिक्री सुरू गरेको हो । होन्डाले चर्चित डबल पर्पस मोटरसाइकलको अपडेटेड भर्सन ल्याएको हो ।

सहरी क्षेत्र होस् वा अफरोडले भरिएको पहाडी र हिमाली क्षेत्र सबै ठाँउमा गुडाउन मिल्ने भएकै कारण डबल स्पोर्ट मोटरसाइकलहरु चढ्नेहरु बढ्दै गएका छन् ।

यो सेग्मेन्टमा यामाहाले डब्लूआर १५५ आर ल्याएसँगै होन्डा एक्सआर १९० एलसँग राम्रै प्रतिस्पर्धा हुने देखिएको छ ।

डिजाइन

यी दुबै मोटरसाइकल अनरोड तथा अफरोडमा चलाउन उपयुक्त मानिन्छन् । विशेषत अपराइट राइडिङ पोजिशन रहेको मोटरसाइकल आरामदायी यात्राको लागि उत्कृष्ट विकल्प हुन् ।

यी दुबै मोटरसाइकलको एक्जष्ट (अपस्वप्ट माथि तिर गएको) डिजाइनमा छन् । लाइट वेट तथा डबल पर्पस टायर रहेको दुबै मोटरसाइकल सहरी तथा अफरोड एड्भेन्चरका लागि डिजाइन गरिएको छ ।

इन्जिन

होन्डा एक्सआर १९० मा १८४ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा १५.६ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा १५.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

यामाहा डब्लूआर १५५ आरमा १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको छ । यसले अधिकतम १६.५ बीएच पावर र १४.३ एनएम टर्क प्रदान गर्छ । यसमा पनि एक्सआर कै जस्तो समान ६ स्पीड गियरबक्स पाउन सकिन्छ । यी दुई मोटरसाइकलमा डब्लूआर १५५ मा कम सीसी भएर पनि पावर भने एक्सआरभन्दा धेरैनै जेनेरेट गर्छ ।

सस्पेन्सन

एड्भेन्चर मोटरसाइकलमा महत्वपुर्ण पक्ष भनेको सस्पेन्सन हो । यामाहा डब्लूआर १५५ को अगाडि ४१ एमएमको टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्स दिइएको छ ।

त्यस्तै यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सनको साथ एन्टी फ्रिक्सन बुस र रियरमा मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

टायर/ब्रेकिङ

यामाहा डब्लूआर १५५ मा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । यसमा अफरोड र सहरी दुबै बाटो सुहाउँदो ड्यूल पर्पोज टायर उपलब्ध छ । भने होन्डाले एक्सआर १९० को फ्रन्टमा १९ इन्च र पछाडि १७ इन्चको ह्वील दिएको छ । यी दुबैमा स्पोक ह्वील छ ।

यी दुबै मोटरसाइकलको फ्रन्टमा डिस्क ब्रेक दिइएको छ । यामाहाले रियरमा पनि डिस्क ब्रेक दिँदा होन्डामा भने रियरमा ड्रम ब्रेक उपलब्ध छ ।

डाइमेन्सन

होन्डा एक्सआर १९० को लम्वाई २१४५ एमएम, चौडाई ८४० एमएम, उचाई १२०० एमएम, ह्वीलवेस १४३० एमएम र ग्राउन्ड क्लियरेन्स २४५ एमएम रहेको छ ।

त्यस्तै यामाहा डब्लूआर १५५ आरको लम्वाई २२२२ एमएम, चौडाई ८५० एमएम, उचाई १२५८ एमएम, ह्वीलवेस १४१० एमएम र ग्राउन्ड क्लियरेन्स २४५ एमएम रहेको छ ।

माइलेज

यामाहा डब्लूआर १५५ आरले ४० किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ भने होन्डा एक्सआर १९० ले ३५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । त्यस्तै होन्डाले १२ लिटर क्षमताको इन्धन स्टोरेज क्षमताको ट्याङकी दिएको छ भने, यामाहाले ८.१ लिटर क्षमताको ट्याङकी दिएको छ ।

मूल्य

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

त्यस्तै होन्डा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले होन्डा एक्सआर १९० को मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँमा तोकेर विक्री गर्दै आएको छ ।


Back_to_top