बागमती प्रदेशले तोक्यो ‘टुरिस्ट ईभी’को मापदण्ड, यस्ता गाडी मात्र प्रयोग गर्न पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले पयर्टक बोक्ने विद्युतीय सवारी साधन (टुरिस्ट ईभी)को मापदण्ड तोकेको छ ।

बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले जेठ १ गतेदेखि ‘पर्यटक यातायात (विद्युतीय सवारी)को गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०८२’ कार्यान्वयनमा ल्याएको हो ।

नयाँ मापदण्ड अनुसार पर्यटक बोक्ने विद्युतीय सवारी साधन (ईभी)लाई ३ साइजमा वर्गीकरण गरिएको छ । जसमा साना, मझौला र ठूला ईभी रहेका छन् । हरेक प्रकारका ईभीको छुट्टाछुट्टै मापदण्ड तोकिएको छ ।

साना सवारी अन्तर्गत सिटी सफारी, जीप सफारी र जंगल सफारी रहेका छन् । सिटी र जीप सफारी ५ देखि १४ सिट र जंगल सफारी कम्तीमा १४ सिटको हुनुपर्नेछ ।

त्यस्तै, सिटी सफारीमा प्रयोग हुने ईभीको मोटर पावर कम्तीमा ४५ किलोवाट, जीपमा ७५ किलोवाट र जंगलमा ७० किलोवाट हुनुपर्ने छ। त्यसैगरी, ब्याट्री सिटी सफारीमा २० किलोवाट आवर, जिप सफारीको ३० किलोवाट आवर र जंगल सफारीको ४० किलोवाट आवरको हुनुपर्नेछ । रेन्ज सिटीको २०० किमी, जीपको ३०० किमी र जंगलको १५० किमी माथि तोकिएको छ ।

त्यसैगरी, ग्राउण्ड क्लियरेन्स सिटी सफारीको १६५ एमएम, जीप र जंगल सफारीको १८५ एमएम हुनुपर्नेछ । सिटी र जीप सफारीको ह्वीलबेस तोकिएको छैन भने जंगल सफारीको कम्तीमा २६०० एमएम हुनुपर्नेछ ।

सफारीमा प्रयोग हुने ईभीमा अटोमेटिक गियर, एबीएस, डुअल एयरब्याग, सेन्टर लकिङ, पार्किङ सेन्सर, एसी, रियर भ्यू क्यामरा  फिचर अनिवार्य गरिएको छ ।

त्यसैगरी, मझौला टुरिस्ट ईभीमा बढीमा २५ सिट, कम्तीमा ८० किलोवाटको मोटर, ५० किलोवाट आवरको ब्याट्री, १९० एमएमको ग्राउण्ड क्लियरेन्स हुनुपर्नेछ । साथै, पार्किङ सेन्सर, हाइ स्पिड अलर्ट, रियर भ्यू क्यामरा , अटोमेटिक गियर,एबीएस, डुअल एयरब्याग, सेन्टर लकिङ, पार्किङ सेन्सर, एसी जस्ता फिचर अनिवार्य गरिएको छ ।

त्यस्तै ठूला टुरिस्ट ईभी कम्तीमा २६ सिट, कम्तीमा ९० किलोवाटको मोटरपावर, ६० किलोवाट आवरको ब्याट्री, २०० एमएमको ग्राउण्ड क्लियरेन्स भएको हुनुपर्नेछ । साथै, डबल एयरब्याग, एबीएस, पार्किङ सेन्सर, हाइ स्पीड अलर्ट, रियर भ्यू क्यामरा, एसी, साउण्ड सिस्टम लगायत फिचर अनिवार्य गरिएको छ ।

 


Back_to_top