काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब २० अर्ब ७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । आयात तथ्यांकका अनुसार गत वर्षको ७ महिनाको तुलनामा ३७.६ प्रतिशतले पेट्रोलियम पदार्थ आयात वृद्धि भएको हो ।
गत वर्ष ८७ अर्ब २४ करोड २८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
चालु आर्थिक वर्षमा कुल आयातको १४.४ प्रतिशत पेट्रोलियम पदार्थ आयात भएको हो ।
आर्थिक वर्ष २०७४/७५ मा कुल १ खर्ब ७२ अर्ब ८८ करोड ४९ लाख २४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
सवारीसाधन तथा पाटपुर्जा
चालु आर्थिक वर्षको ७ महिनामा ५६ अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको सवारी तथा सवारीका पाटपुर्जाहरु आयात भएको छ । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा साउनदेखि माघसम्म १२.८ प्रतिशतले यातायात तथा त्यसका पाटपुर्जाको आयात वृद्धि भएको हो ।
नेपाल वैदेशिक व्यापार सन्तुलको तथ्यांक अनुसार गत आर्थिक वर्षको ७ महिनामा ५० अर्ब ४९ करोड ८१ लाख रुपैयाँ बराबरको सवारी तथा सवारीका पाटपुर्जाहरु आयात भएको थियो ।
चालु आर्थिक वर्षमा कुल आयातको ६.८ प्रतिशत सवारी तथा सवारीका पाटपुर्जाहर आयात भएको हो ।
आर्थिक वर्ष २०७४/७५ साल भरिमा कुल ८६ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको सवारी तथा सवारीका पाटपुर्जा आयात भएको नेपाल वैदेशिक व्यापार सन्तुलनले जनाएको छ ।


