लोभलाग्दो देखियो हुन्डाई आयोनीक थ्री, यस्ता छन् फिचर

काठमाडौं । कोरियन कम्पनी हुन्डाईले जर्मनीको म्युनिखमा चलिरहेको आइएए मोबिलिटी २०२५ मा कम्प्याक्ट इलेक्ट्रीक ह्याचव्याक कार आयोनीक थ्रीको कन्सेप्ट देखाएको छ । कम्पनीले क्रेटा ईभी भन्दा सानो साइजमा देखाएको इलेक्ट्रीक ह्याचव्याक सन् २०२६ बाट उत्पादन सुरु हुने जनाएको हो ।

कन्सेप्ट कार आयोनीक थ्रीको लम्बाइ ४२८७ एमएम, चौडाइ १९४० एमएम, उचाइ १४२८ एमएम छ । यसमा ह्वीलवेस भने २७२२ एमएम लामो दिइएको छ । हुन्डाईको ‘स्टिल डिजाइन ल्याङ्वेज’मा बनेको हो ।

आयोनीक थ्रीको एक्सटेरियर डिजाइनमा पुस्ड फरवार्ड काउल, स्पोर्टी, एरो ह्याच बनावट, फ्लोइङ रुफलाइन प्रयोग भएको छ । डकटेल रियर स्पोइलर, भर्टिकल टेलगेट, फ्रन्ट र रियरमा पारामेट्रीक पिक्सेल लाइट दिएको कारण आकर्षक देखिएको छ । ह्वील पनि निकै ठूलो देखिन्छ ।

यसको क्याविनमा पहेँलो र ग्रेकलरको संयोजन देखिन्छ । आयोनीक थ्री कन्सेप्ट कारमा टचस्कृन इन्फोटेन्मेन्ट स्कृन देखिएको छैन । यसमा चालकको आफ्नै ग्याजेट प्रयोग गर्ने किसिमको डिजाइन पाउन सकिन्छ ।

हुन्डाईले आयोनीक सिरिजमा प्रयोग गरेको जस्तै रिसाइकल र सस्टनेवल मेटिरियल प्रयोग गरेर क्याविन तयार पारेको जनाएको छ ।

हुन्डाईको आयोनिक थ्री इलेक्ट्रीक सब ब्राण्ड आयोनिक रेन्जको इन्ट्री लेभल कार हो । यसमा कियाको ईभी ४ कै प्लेटफर्म र मोटर प्रयोग हुनेछ ।

यसको टेक्नीकल डिटेल बाहिर नआएपनि सिंगल चार्जमा अधिकतम रेन्ज ६२८ किलोमिटरसम्म दिने ब्याट्री रहने बताइएको छ । साथै, यसलाई १५० किलोवाटसम्मको डिसी फास्ट चार्जरले चार्ज गर्न सकिने छ ।


Back_to_top