काठमाडौं । मुस्ताङको नेचुङमा भन्सार कार्यालय नियमित संचालनमा ल्याइएसँगै सामान लिन झन्डै १०० कन्टेनर चिनियाँ सीमा नाका कोरला पुगेका छन् ।
रसुवागढी र तातोपानी नाका २ महिनादेखि बन्द भएपछि विकल्पमा कोरला नाकाबाट सामान आयात गर्न थालिएको हो । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै सामान ढुवानी गर्न धमाधम कन्टेनरहरू त्यहाँ पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी (प्रहरी निरीक्षक) विशाल अधिकारीले भदौ यता मात्रै ९८ वटा कन्टेनर सामान लिन कोरला नाका गएको जानकारी दिए ।
‘भदौ लागेदेखि नै कन्टेनर धमाधम आउन थालेका थिए । यो महिना मात्रै ९८ वटा कन्टेनर इन्ट्री भएका छन् । धेरैजसो सामान लिएर फर्किएका छैनन् । कन्टेनरहरू लोमाङथाङ, नेचुङ र कोरलामा रोकिएका छन्,’ उनले मेरोअटोसँग भने, ‘केही सामान लोड हुनै बाँकी रहेकाले रोकिएका थिए । अहिले भने निषेधाज्ञा र कर्फ्युका कारण कन्टेनरहरू रोकिएका छन्।’ अवस्था सामान्य भएसँगै सामान लिन गएका कन्टेनरहरू फर्कने उनको भनाइ छ ।
भन्सार विभागले कोरला नाका नियमित संचालनमा ल्याउन गत साता आवश्यक कर्मचारी पठाउँदै सम्पूर्ण व्यवस्था मिलाएको थियो ।
मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले कोरला नाका तत्कालका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग ल्याइएको उनले बताए । आवश्यक सबै पूर्वाधार व्यवस्था गरिएकाले चिनियाँ मालवस्तु आयातमा कुनै समस्या नहुने उनले बताए ।
उनले मालवस्तु भन्सार जाँचपासको लागि विभागसँग कार्यालयको ‘अनलाइन’ प्रणाली ‘इन्ट्री’ भइसकेको बताए । त्यस्तै, लोमान्थाङमा रहेको प्रभु बैंकबाट भन्सार राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
‘तातोपानी र रसुवाको विकल्पका कोरालो नाका संचालनमा ल्याइएको हो । चीनबाट ल्याइएको सामान नेचुङमा रहेको कार्यालयबाट जाँचपासको व्यवस्था मिलाइएको छ । राजस्व तिर्न लोमाङथाङमा प्रभु बैंक तोकिएको छ,’ उनले मेरोअटोसँग भने ।
उनले कोरला नाकास्थित चिनियाँ भन्सारमा जाँचपास भई आयात भएका कन्टेनरको नेचुङमा जाँचपास गरी पठाइने बताए । हाल जाँचपासका लागि ७ कन्टेनर सामान आएको बताए । ‘भन्सार जाँचपासका लागि ७ वटा कन्टेनर आइपुगेका छन् । विकसित पछिल्लो घटनाक्रमका कारण रोकिएको छ । अवस्था सामान्य हुने बित्तकै जाँचपास गरेर पठाइन्छ,’ उनले भने ।
व्यापारीहरूले दशैं, तिहारलाई लक्षित गरी सयौं कन्टेनर समान ल्याउ लागेको उनले बताए । अहिले उक्त सामान चीनको ल्हासासहित विभिन्न स्थानबाट आउने क्रममा रहेको बताए ।
व्यवसायीहरूले कोरलाबाट लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक लगायत सामान ल्याएका छन् । साथै, केही व्यवसायीले विद्युतीय सवारी ल्याएको भन्ने सुनिएको भन्सार अधिकृत खड्काले बताए । यद्यपि, जाँचपासका लागि आइनपुगेकाले एकीन तथ्यांक नभएको उनले बताए ।

