काठमाडौं । सडक विभागले पहाडी भेगका घुम्ती मोड भएका सडकमा रोप ब्यारियर राख्ने योजना बनाएको छ । सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाले पहाडी क्षेत्रमा प्राय घुम्ती सडकहरुमा बढी दुर्घटना हुने भएकालले त्यस्तो स्थानमा रोप ब्यारियर निर्माण गरिने जनाएको छ ।
भौगोलिक अवस्थाका कारण पहाडी भूभागमा बढी जोखिम रहेकाले त्यस क्षेत्रमा रोप ब्यारियर राख्ने तयारी थालिएको शाखाको भनाइ छ । रोप ब्यारियर निर्माणका लागि हालसम्म बजेट विनियोजन भइनसकेको शाखा प्रमुख बाराहीले बताए । रोप वेका लागि प्रति मिटर ७ देखि ८ हजार रुपैयाँ लाग्ने उनको भनाई छ ।
‘रेलिङ हाल्न अलि बढी स्पेश चाहिन्छ, जहाँ सुकै राख्न पनि मिल्दैन । त्यसैले रोप ब्यारियर नै उपयुक्त हुन्छ । गाडी दुर्घटना हुन खोज्दा रोप फेल्जिबल हुने र दुर्घटनाबाट जोगिन्छ,’ बाराहीले मेरोअटोसँग भने ।
न्यूनतम ५० सेन्टीदेखि १ मिटर स्पेश राखेर रोप रेलिङ राख्नु पर्ने उनले जानकारी दिए । उनका अनुसार हालसम्म कुन–कुन ठाउँमा रोप ब्यारियर राख्ने निश्चित भइसकेको छैन ।
उक्त याजना आउँदो आर्थिक वर्षको योजनामा राखिने उनले बताए । उनले नारायणघाटदेखि मुग्लीङको ५ सय मिटर सडकमा रोप ब्यारियर सम्भव देखिएकाले यसलाई पहाडी क्षेत्रमा लगाइने योजना रहेको बताए ।
‘रोप ब्यारियर एकदम इफेक्टिभ देखिएको छ, मुग्लीङमा रहेको ब्यारियरले ३५ टन सम्मको ट्रक धानेको थियो,’ बाराहीले भने । तराईका सडकहरुमा बढी रिक्स नभएकोले रोड सेफ्टी साइन बोर्ड राखे पुग्ने उनको भनाई छ ।
पहाडी क्षेत्रका सडकमा भने ३ मिटर भन्दा गहिरो भएको ठाउँमा स्टिल ब्यारियर, रोप ब्यारियर, कंक्रिट ब्यारियर, ग्रयाबेलको ब्यारियर लगायतका ब्यारीयर निर्माणको योजना भइरहेको उनले जानकारी दिए ।


