डलरको मूल्यमा लगातार नयाँ रेकर्ड, गाडीको भाउ बढ्ने

काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार नयाँ रेकर्ड बनाउन थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

डलरको मूल्य आकाशिएसँगै सवारी साधन आयात लागत पनि महँगिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सवारी साधनको मूल्य नबढे पनि डलर मूल्य बढ्दा लागत बढ्ने भएको हो ।

पछिल्लो ६ महिनामै डलरको मूल्य १० रुपैयाँ बढेको छ । जेठ पहिलो साता १३६ रुपैयाँ रहेको अमेरिकी डलरको भाउ अहिले बढेर १४६ रुपैयाँ नजिक पुगेको हो ।

नेपालमा हाल आयात हुने धेरै जसो कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा १५ देखि ३० हजार डलरको बीचमा रहेका छन् । सो आधारमा पछिल्लो ६ महिनामै एउटा कार आयात गर्दा मूल्यमा डेढदेखि ३ लाख रुपैयाँसम्म फरक परेको देखिन्छ ।

आयात लागत बढेसँगै बिक्रेताहरूले पनि नेपाली बजारमा मूल्य समायोजना गर्ने सम्भावना देखिन्छ ।


Back_to_top