एउटै रफ्तारमा बिकिरहेको ईभी, मासिक किस्ता ३५ हजार

काठमाडौं । निरन्तर एउटै रफ्तारमा बिक्री भइरहेको ईभी कुन हो भन्ने प्रश्न आयो भने अहिले पाइने सिधा उत्तर टाटा पन्च ईभी हो । नेपाली बजारमा प्रवेश गरेको १६ महिनासम्म यसको बिक्री र आयातमा एउटै रफ्तार पाउन सकिन्छ ।

सन् २०२४ को सेप्टेम्बरमा सिप्रदी ट्रेडिङले सार्वजनिक गरेको पन्च ईभी सुरूमा दुई ब्याट्री अप्सनमा उपलब्ध थियो । मिड रेन्ज भनेर २५ किलोवाट आवर र लङ रेन्ज भनेर ३५ किलोवाट आवरको ब्याट्री पन्च ईभीमा थियो । विस्तारै उपभोक्ताको रोजाईमा लङ रेन्ज पर्दै जाँदा कम्पनीले अहिले सानो ब्याट्री भएको भेरियन्ट ल्याउन बन्द गरेको छ ।

टाटा पन्च सन् २०२४ महिनामा औसत १२४ युनिटका दरले आयात भएको थियो । सुरूमा आकर्षक मूल्य र धेरै उपभोक्ताले प्रतिक्षा गरिरहेको मोडल भएको कारण केही धेरै आयात हुनु स्वभाविक हो । त्यसमा पनि सिप्रदीले सुरूवाती दिनको डेलिभरी ब्यालेन्स गर्न नै केही बढी युनिट ल्याएको थियो । अघिल्लो दशैं-तिहारपछि यसको आयात एउटै ‘पेश’मा छ ।

सन् २०२५ को आयात तथ्यांक केलाउँदा जेठ १५ गतेदेखि असार १५ गतेसम्मको एक महिना आयात भएको छैन । तर, जेठमा बजेट अगाडि र असार अन्तिममा भने आयात भएको देखिन्छ । अंग्रेजी महिना अनुसार ‘जुन महिना’मा भने आयात छैन । अन्यथा सबै महिनामा आयात भएको तथ्यांकमा देखिन्छ ।


सिप्रदी जनवरी २०२५ मा ६७ युनिट, फेब्रुअरीमा ४४ युनिट, मार्चमा ५८ युनिट, अप्रिलमा २१ युनिट र मेमा १२४ युनिट आयात गरेको देखिन्छ । जुनमा आयात छैन । जुलाइमा ४४ युनिट, अगस्टमा ४८ युनिट, सेप्टेम्बरमा १०० युनिट, अक्टोबरमा १९ युनिट र डिसेम्बरमा ३ युनिट आयात गरेको छ ।

सन् २०२५ भर कम्पनीले ५३६ युनिट पन्च ईभी आयात गरेको हो । नेपाल आएको १६ महिनामा १ हजार २८ युनिट पन्च ईभी आयात भएको देखिन्छ । यस तथ्यांक अनुसार मासिक ६५ युनिट हाराहारी पन्च आयात भएको छ ।

मासिक किस्ता ३५ हजार

टाटा पन्च ‘प्राक्टिकल’ रूपमा निकै अब्बल कार हो । साइजमा सानो र एसयूभीको चाह राख्नेको लागि उपयुक्त भएकै कारण यसको बिक्री निरन्तर एउटै रफ्तारमा भएको हो ।


अहिले दुई भेरियन्टमा टाटा पन्च ईभी बजारमा किन्न पाइन्छ । सनरुफ भएको मोडल किन्न ४० लाख ९९ हजार रुपैयाँ तिर्नु पर्छ । सनरुफ नभएको भेरियन्टलाई ३८ लाख ९९ हजार पर्छ । यदि, ३८ लाख ९९ हजार पर्ने भेरियन्ट किन्ने हो भने मासिक ३५ हजार ४०० रुपैयाँ हाराहारी किस्ता तिर्दा पुग्छ ।

गाडीको मूल्यको ४० प्रतिशत रकम डाउन पेमेन्ट बापत सुरूमै बुझाउनुपर्छ । बाँकी ६० प्रतिशतले हुन आउने २३ लाख ३८ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ । बैंकले ७ प्रतिशत हाराहारी ब्याजदरमै कर्जा उपलब्ध गराइरहेका छन् । कर्जा अवधि ७ वर्ष राखेर किन्दा मासिक मासिक किस्ता ३५ हजार ४०० रुपैयाँ हाराहारी पर्छ ।

पन्चको फिचर्स

टाटाले ‘एक्टी डट ईभी’ प्लेटफर्ममा बनाएको पन्च ईभीमा भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, सनरुफ, वायरलेस चार्जर दिइएको छ । सनरुफसहितको एसयूभीमा ठूलो साइजको इन्फोटेन्टमेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर छ ।

सुरक्षाको हिसाबले पनि पन्च ईभीलाई अब्बल मानिन्छ । यसले ग्लोबल एनक्याप र भारत एनक्याप दुवै क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, ब्लाइण्ड स्पट मोनिटरिङ, चारै चक्कामा डिस्कब्रेक पाउन सकिन्छ ।

टाटाले हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेर बनाएको पन्च ईभी निकै एरोडाइनामिक छ । पन्च ईभी पावरको मामलामा पनि निकै राम्रो छ । यसमा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले टर्क भने १९० एनएम प्रदान गर्छ । ग्राउण्ड क्लियरेन्सको हिसाबले पनि पन्च ईभी उत्कृष्ट छ । यसमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ ।


Back_to_top