काठमाडौं । सरकारले गत असार ९ गतेदेखि लागू गरेको ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२’ का कारण सवारी साधनको मूल्य बढ्ने भएको छ ।
सरकारले नयाँ मापदण्ड लागू गर्दै दुईपाँग्रे सवारी साधनमा युरो ५ र चारपाँग्रेमा युरो ६ मापदण्ड लागू गरेको थियो । सरकारको सोही नीतिका कारण अब बजारमा आउने साना मोटरसाइकलको मूल्य बढ्ने भएको हो ।
विशेषगरी, दुईपाँग्रे साधन बिक्रेता कम्पनीहरूले कम्युटर सेग्मेन्टमा उपलब्ध हुँदै आएका धेरै मोटरसाइकल बीएस-४ मा आयात गर्दै आएका थिए । सरकारले युरो-६ वा बीएस-६ मापदण्ड सरहको मात्रै साधन आयात गर्न पाउने नियम बनाएसँगै मोटरसाइकलको मूल्य वृद्धि हुने देखिएको हो ।
व्यवसायीको आग्रह अनुसार सरकारले एकपटकका लागि प्रोफर्म इन्भ्वाइस जारी भइसकेको युरो ४ का सवारी मंसिर १५ गतेसम्म ल्याउन दिने निर्णया गरेको थियो । सोही अहिले पनि केही कम्पनीसँग बिक्रीको लागि बीएस-४ मापदण्डको मोटरसाइकल उपलब्ध छ । अब विस्तारै स्टक सकिन लागेकाले अब बजारमा आउने सबै दुईपाँग्रे सवारी युरो ६ का हुने यावसायीहरू बताउँछन् ।
गत महिना रोयल इनफिल्डले दुई मोडलका बीएस-६ मापदण्डका मोटरसाइकल बजारमा ल्यायो । त्यसअघि बीएस-४ मा उपलब्ध मोडललाई कम्पनीले बीएस-६ इन्जिनमा ल्याएको हो ।
बजाजले नयाँ वर्ष २०२६ लाग्ने बित्तिकै बीएस-६ इन्जिनमा पल्सर २२० एफको बुकिङ खुला गरेको छ । यसरी नयाँ मापदण्डको इन्जिनमा आउने मोटरसाइकलको मूल्य बढ्ने व्यवसायीहरू बताउँछन् ।
बीएस-४ मापदण्डमा आधारित मोटरसाइकल स्कुटरको तुलनामा बीएस-६ मा धेरै फिचर्स र नयाँ टेक्नोलोजी प्रयोग हुने भएको कारण मूल्य बढ्ने छ । भारतमा पनि नयाँ मापदण्ड हुँदा १० प्रतिशत हाराहारी मूल्य बढेको थियो ।
बीएस-६ मापदण्ड अनुसार मोटरसाइकल वा स्कुटरमा प्रयोग हुने इन्जिन अनिवार्य एफआई हुनुपर्नेछ । साथै, एबीएस र प्रदूषण कम गर्ने विभिन्न टेक्नोलोजी प्रयोग हुने भएकाले मूल्य बढ्ने छ ।
बीएस-६ अनिवार्य हुँदा केही मोडलहरूमा मूल्य बढ्न सक्ने बताउँछन् बजाज नेपालका निर्देशक अभिमन्यु गोल्छा । उनी भन्छन्, ‘मोडल अनुसार मूल्य वृद्धि फरक हुन्छ । हाम्रो ठूला मोटरसाइकल पहिलानै बीएस-६ मा भएको कारण मूल्य बढ्दैन । १५० सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकलमा भने नयाँ इन्जिनमा आउँदा १५ हजारदेखि ३० हजार रुपैयाँसम्म मूल्य बढ्न सक्नेछ । ’
विभिन्न समयमा अपडेट हुँदै एबीएस तथा एफआई इन्जिन भएका मोटरसाइकललाई बीएस ६ अपग्रेड गर्दा भने मूल्य खासै नबढ्ने गोल्छाको भनाइ छ ।
रोयल इनफिल्ड नेपालका निर्देशक मेघराज पौडेलको बुझाइ पनि उस्तै छ । बीएस-६ आफैँमा महँगो टेक्नोलोजी भएको बताउँदै पौडेल भन्छन्, ‘हामीले बीएस-६ इन्जिनसँगै अन्य विभिन्न फिचरहरू समेत थप गरेर ल्याउँदा मूल्य भने धेरै बढाएका छैनौं । तर, बीएस ६ मा जाँदा २५ देखि ३० हजार रुपैयाँ मूल्य बढ्ने अवस्था भने छ ।’
‘बजारको अवस्था हेरेर मूल्य बढाउन सक्ने अवस्था छैन । बरू कम्पनीहरूले उत्पादक कम्पनीहरूसँग सरसल्लाह गरेर सकेको कम मूल्यमा बजारमा मोटरसाइकल ल्याउन पहल गरिरहेका छौं,’ पौडेलले मेरोअटोसँग भने ।
टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका निर्देशक अखिल गुप्ता पनि नयाँ मापदण्डका मोटरसाइकल ८ देखि १५ प्रतिशतसम्म महँगो हुनसक्ने बताउँछन् ।
‘उत्पादकले ४ देखि १५ प्रतिशतसम्म मूल्य बढाउने देखिएको छ । सायद यहाँ पनि ८ देखि १५ प्रतिशतसम्म असर पर्न सक्छ,’ गुप्ताले मेरोअटोसँग भने ।
अहिले नेपालमा धेरैजसो कम्पनीहरूले आफ्नो मोटरसाइकल लाइनअप सबै बीएस ६ मा लैजाने अन्तिम तयारी गरिरहेका छन् । यसले बजारमा नयाँ बीएस ६ इन्जिनमा आउने साना मोटरसाइकलमा १५ हजारदेखि मिड साइजका मोटरसाइकलमा ३० हजार रुपैयाँसम्म मूल्य बढ्ने देखिन्छ ।

