मोटरसाइकल आयातमा बजाजको छलाङ, कुन मोडलका कति ल्यायो ?

काठमाडौं । सन् २०२५ मा बजाजका मोटरसाइकल आयातमा उछाल आएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले अघिल्लो वर्षको तुलनामा २०२५ मा ७८.४८ प्रतिशत धेरै मोटरसाइकल आयात गरेको हो ।

कम्पनीले सन् २०२५ मा कुल ४४ हनार ६८७ युनिट मोटरसाइकल नेपाल भित्र्याएको छ । यो सन् २०२४ को तुलनामा १९ हजार ६४९ युनिट धेरै हो । कम्पनीले सन् २०२४ मा २५ हजार ३८ युनिट मोटरसाइकल नेपाल ल्याएको थियो ।

सन् २०२५ मा बजारमा मोटरसाइकलको माग बढेसँगै बजाजको आयातमा उछाल आएको हो । बजाज यस वर्ष सर्वाधिक मोटरसाइकल आयात गर्ने कम्पनी समेत हो ।

बजाजको नेपालमा सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल पल्सर १५० मोटरसाइकल सर्वाधिक धेरै २० हजार ७८४ युनिट आयात भएको छ । कुल आयातमा पल्सर १५० हिस्सा यसको हिस्सा ४६.५१ प्रतिशत रहेको हो ।

पल्सर सिरिजकै एन १५० मोटरसाइकल २ हजार १६ युनिट आयात भएको तथ्यांकमा देखिन्छ । त्यस्तै, एन १६० एक हजार ४०४ युनिट, पल्सर १६० एनएस ६२४ युनिट र पल्सर २०० एनएस १ हजार ९६२ युनिट आयात भएको छ ।

बजाजले क्रुजर सेग्मेन्टमा पनि राम्रै मोटरसाइकल आयात गरेको देखिन्छ । जसमा एभेन्जर १६०/२२० क्रमशः ४८० युनिट र ५७६ युनिट आयात गरेको छ ।

बजाजको नेपालमा निकै रुचाइएको पल्सर २२० एफ ७ हजार ८०८ युनिट आयात हुँदा ४०० एनएस १५६ युनिट र एन २५० पनि १५६ युनिट नै आयात भएको छ । डोमिनार २५० को आयात शून्य हुँदा डोमिनार ४०० को आयात भने १९८ युनिट देखिएको छ ।

त्यसैगरी, कम्युटर सेग्मेन्टमा बजाजको डिस्कभर १२५ मोटरसाइकल ८६४ युनिट, एनएस १२५ र एन १२५ क्रमश १ हजार ५६ र १ हजार १७६ युनिट आएको छ । पल्सर १२५ एक हजार ४०४ युनिट आयात हुँदा बजाजको सबैभन्दा कम सीसीको मोटरसाइकल प्लाटिना २ हजार ७०९ युनिट आयात भएको छ ।


Back_to_top