काठमाडौं । चिनियाँ मिडियाले प्रकाशित गरेको रिपोर्ट अनुसार चांगान मोटर्सको लगानी रहेको स्टार्टअप कम्पनीले सोलिड स्टेट ब्याट्रीको लागि ५७ मिलियन अमेरिकी डलर लगानी सुनिश्चित भएको जनाएको छ ।
तैलन न्यू इनर्जी नामक कम्पनीमा थप लगानी लिआङजियाङ कोष, जुनआन हुइटियन, बैंक अफ कम्यूनिकेसन्स इन्भेस्टमेन्ट र कियाङजियाङ सुन्य डिग्री जस्ता कम्पनीले गरेका हुन् ।
माथि उल्लेखित कम्पनीहरुले गरेको ५७ मिलियन डलर तैलन इनर्जीले सोलिड स्टेट ब्याट्री उत्पादन गर्न लगाउने छ । उक्त लगानीले ब्याट्री प्रविधिको विकास, अनुषन्धान र उत्पादनमा सहयोग पुग्ने तैलन इनर्जीको भनाइ छ ।
तैलन इनर्जीसँग ब्याट्री सामाग्री, सेल डिजाइन र निर्माण प्रक्रिया सम्बन्धी ८०० भन्दा बढी पेटेन्ट सुरक्षीत छ । कम्पनीको स्वामित्वमा रहेको ‘सेफ प्लस’ सोलिड स्टेट प्लेटफर्म र इन-सिटु सब-माइक्रोन इन्डस्ट्रियल फिल्म डिपोजिसन प्रविधिले ब्याट्रीमा हुने परम्परागत इलेक्ट्रोलाइटहरु हटाएर सोलिड स्टेस्ट ब्याट्री बनाउने छ ।
चांगान र तैलन दुबै बीच २०२५ मै रणनीतिक साझेदारी सुरु भएको थियो । त्यसैले कम्पनीले उत्पादन गर्ने पहिलो सोलिड स्टेट ब्याट्री पनि चांगानका कारमा प्रयोग हुने सहजै अनुमान गर्न सकिन्छ ।
संसारभर ब्याट्री टेक्नोलोजीमा काम गर्दै आएका स्टार्टअप हुन् वा ठूला उत्पादक सबैको लक्ष्य सोलिड स्टेट ब्याट्रीलाई सफलता पुर्वक बजारमा ल्याउने रहेको छ । यो दौडमा जापानी ब्राण्ड टोयोटा अहिलेसम्म सबैभन्दा अगाडि रहेको मानिन्छ ।

