कारभन्दा कमर्शियल सवारी किन्न लिए तेब्बर धेरै ऋण, १ महिनामै ५ अर्ब प्रवाह

काठमाडौं । चालु आर्थिक वर्षमा निजीभन्दा व्यवसायीक प्रयोजनका लागि सवारी साधन खरिद गर्न ऋण लिने ह्वात्तै बढेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिना (साउन-मंसिर)को तथ्यांकले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिदका लागि कुल ७ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् ।

सोमध्ये ६ अर्ब ४ करोड १६ लाख रुपैयाँ कमर्शियल सवारी खरिद गर्न लिएका हुन् । यो चालु आवमा निजी सवारी किन्न लिएको ऋणभन्दा तेब्बर धेरै हो । ५ महिनामा निजी सवारी खरिदका लागि १ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्यांक छ । मंसिरमा मात्रै कमर्शियल सवारी खरिदका लागि ५ अर्ब १ करोड रुपैयाँ कर्जा लिएका छन् ।

चालु आवमा कमर्शियल सवारी कर्जाको वृद्धिदर ७.३ प्रतिशत र निजीको ४.३ प्रतिशत रहेको छ । समग्र हायर पर्चेज कर्जाको वृद्धिदर ६.१ प्रतिशत रहेको छ ।

गत असार मसान्तसम्म कमर्शियल सवारीमा बैंक तथा वित्तीय संस्थाहरूले ८६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा मंसिर मसान्तसम्म बढेर ९२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो । त्यस्तै, असार मसान्तसम्म निजी सवारीमा ४२ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी भएकोमा मंसिर आइपुग्दा ४४ अर्ब ४३करोड रुपैयाँ पुगेको छ ।

हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी १ खर्ब ३६ अर्ब ५८ करोड लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म यस्तो लगानी १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँ थियो ।

पछिल्लो समय आर्थिक गतिविधिमा सुधार आउँदा सवारी साधनको माग बढेकाले कर्जा लिने पनि बढेका हुन् । आर्थिक गतिविधिमा सुधार आउँदा सवारी साधनको खरिद बिक्री बढ्दा हायर पर्चेज कर्जा लगानीमा पनि सुधार आएको हो ।

चालु आवमा सबै प्रकारका सवारीको आयात तथा बिक्री दुवै बढेको छ । चालु आवको ५ महिनामा मात्रै ६ हजार बढी युनिट कार, जीप, भ्यान लगायत सवारी साधन आयात भएका छन् । त्यस्तै, १ लाख १४ हजार युनिट बढी दुईपाँग्रे, साढे २ हजार युनिट बढी मिनिबस, माइक्रो, बस, ट्रक लगायत सवारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

अहिले बैंकको ब्याजदर एक दशक यताकै तल्लो बिन्दुमा आएको छ । ६/७ प्रतिशत ब्याजदरमै ऋण पाइने अवस्था छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएकाले बैंकहरूले पनि आकर्षक स्कीम ल्याइरहेका छन् । जसकारण ऋण लिएर नयाँ सवारी किन्नेहरू पनि बढ्न थालेको देखिन्छ ।


Back_to_top