मुग्लिन-आँबुखैरेनी सडकको सीमा निर्धारण, राजपत्रमा प्रकाशित

काठमाडौं । सरकारले मुग्लिन-पोखरा सडक अन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकको सीमा (राइट अफ वे) निर्धारण गरेको छ ।

भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै मुग्लिन-आँबुखैरेनी सडको सीमाबाट १५/१५ मिटर दायाँबाँयाँ गरी कुल ३० मिटर सडक सीमा तोकेको हो ।

सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी सडक सीमा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले उक्त सडकको सीमा तोक्ने निर्णय गरेको थियो ।

हाल मुग्लिन-पोखरा सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । आँबुखैरेनीदेखि पोखरासम्म ८० किमी सडक दुई प्याकेजमा निर्माण भइरहेको छ । मुग्लिनदेखि आँबुखैरेनीसम्म विस्तार हुन बाँकी छ । सोही खण्डमा हालको सडकको समानान्तर नयाँ सडक निर्माण गर्न लागिएको हो ।

मुग्लिङ बजारको पारिपट्टि त्रिशुली किनार (गोरखातर्फ) देखि मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत गृहको पारिपट्टिसम्म नयाँ सडक निर्माण गर्न लागिएकाले मन्त्रालयले सडक सीमा क्षेत्र तोकेको हो । यससँगै अब उक्त सीमा क्षेत्र भित्रै कुनै पनि भौतिक संरचना निर्माण गर्न पाइने छैन ।

मुग्लिन-आँबुखैरेनी सडकको ठेक्का फागुन महिना भित्रै लगाउने सडक विभागको तयारी छ । विश्व बैंकको ऋण सहयोगमा मुग्लिन-आँबुखैरनी समानान्तर सडक निर्माण हुन लागेको हो ।


Back_to_top