भारतमा सस्तिने भयो युरोपियन कार, कर ११०% बाट १०% मा झार्ने सम्झौता

काठमाडौं । भारतीय बजारमा युरोपियन कार सस्तिने भएका छन् । मंगलबार भारत र युरोपेली संघ (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै युरोपियन कारमा लगाइएको कर भारी कटौती हुने भएको हो ।

भारतले हाल युरोपमा उत्पादन भएका कारमा ११० प्रतिशतसम्म कर लगाउँदै आएको छ । सम्झौता अनुसार अब युरोपियन कारमा लाग्दै आएको कर क्रमशः १० प्रतिशतमा झारिने छ । जसले युरोपियन कारको मूल्य सस्तिने भएको हो ।

उक्त कर छुट सुविधा हरेक वर्ष २ लाख ५० हजार युनिट सवारी साधनमा लागू हुनेछ । कर छुट सुविधा पहिलो आइसीई सवारी साधनले पाउने छन् । विद्युतीय सवारी साधनहरूले भने ५ वर्षपछि मात्रै कर कटौती सुविधा पाउने छन् ।

त्यस्तै, भारतले युरोपबाट आयात गर्दै आएका अटो कम्पोनेन्टहरूमा लाग्ने शुल्क ५ देखि १० वर्ष भित्र पूर्ण रूपमा खारेज गर्ने भएको छ । यसले भारतमै युरोपियन कार उत्पादन गर्न सहयोग पुर्याउने छ ।

भारतको छुट सुविधालाई सवारीको मूल्य र कोटा अनुसार तीन खण्डमा विभाजन गरिने छ । जसमा अधिकांश कारहरूमा ३०-३५ प्रतिशत महसुल लाग्नेछ । जुन ५ वर्षभित्र क्रमशः घटेर १० प्रतिशतमा झर्नेछ।

हाल ४० हजार अमेरिकी डलरभन्दा कम मूल्यका कारहरूमा ७० प्रतिशत, ७० हजार डलरभन्दा महँगा कारहरूमा ११० प्रतिशत र सीकेडीमा १६.५ प्रतिशत उत्पादन शुल्क लाग्छ ।

कर छुटले मर्सिडिज-बेन्ज, बीएमडब्ल्यू, भोल्भो, जगुआर ल्यान्ड रोभर र अडीजस्ता अधिकांश युरोपेली लक्जरी कार ब्रान्डहरूले लाभ पाउने छन् । यी ब्राण्डले हाल भारतैम सवारी एसेम्बल गर्दै आएका छन् । अटो पार्टपुर्जामा कुनै महसुल नलाग्ने भएकाले ती गाडीहरू अझै सस्तो बन्ने छन् ।

त्यस्तै, तयारी कारमा गरिएको शुल्क कटौतिले लक्जरी कार बजारका लागि वरदान हुनेछ । यद्यपि, यसले बजारको सानो वर्गलाई मात्र फाइदा पुर्याउने छ । यसले मर्सिडीज बेन्जको एमजी सिरिज, अउडी अरएस मोडेल र बीएमडब्लू एम  मोडेलहरूमा ठूलो मूल्य कटौती हुनेछ । पोर्श, ल्याम्बोर्गिनी र फेरारीका स्पोर्टकारहरूले पनि उल्लेखनीय रूपमा लाभ उठाउने छन् । तर यस्ता कारको आयात निकै कम हुन्छ ।


Back_to_top