काठमाडौं । नेपालमा क्रुजर मोटरसाइकलप्रतिको आकर्षण बढ्दो छ । मुख्यगरी यो स्टाइल, आराम र लामो यात्रा मन पराउनेहरूको रोजाइमा पर्ने गरेको छ ।
नेपाली बजारमा करिब आधादर्जन ब्राण्डका क्रुजर मोटरसाइकल उपलब्ध छन् । अधिकांश ब्राण्डका २०० सीसीका मात्रै क्रुजर मोटरसाइकल उपलब्ध छन् । यिनीहरूको मूल्य पनि अन्य सेग्मेन्टकोभन्दा निकै महँगो हुन्छ । जसकारण सबैको पहुँचमा पर्न सक्दैन ।
तर, बजाजले भने सानो इन्जिन क्षमतामै क्रुजर मोटरसाइकल उपलब्ध गराएको छ । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले १६० सीसीको क्रुजर बिक्री गरिरहेको हो ।
कम्पनीले बेच्ने एभेन्जर १६० स्ट्रीट नेपालमा पाइने २०० सीसी मुनिको एक मात्र क्रुजर मोटरसाइकल समेत हो । अन्य ब्राण्डहरूले क्रुजर सेग्मेन्टमा साना मोटरसाइकल उपलब्ध नगराउँदा एभेन्जर एक मात्र विकल्पको रूपमा रहेको छ । यसले कम मूल्यमै क्रुजर मोटरसाइकल चढ्छु भन्नेको सपना पूरा गरिरहेको छ ।
यहाँ हामीले एभेन्जर १६० मोटरसाइकलको अब्बल ७ पक्ष बारे चर्चा गरेका छौं ।
क्रुजर डिजाइन र स्टाइल
एभेन्जर १६० लाई यसको मोर्डन स्ट्रीट स्पोर्टी क्रुजर डिजाइनले स्पोर्टस्टार लुक्स बनाएको छ । यो इन्ट्री लेभलको क्रुजर मोडल हो । यसमा दिइएको लो स्लंग डिजाइन, लामो ह्वीलबेस, अलोय ह्वीलसहितको चौडा टायर, स्लोप फ्युल ट्याकं र अग्लो किसिमको ह्याण्डल पोजिसनले रोड प्रिजेन्ट निकै उत्कृष्ट देखाउँछ । क्रुजर मोटरसाइकलमा हुनु पर्ने सबै गुण एभेन्जरले पूरा गरेको पाइन्छ ।

आरामदायी राइडिङ पोजिसन
यो मोटरसाइकलको सबैभन्दा राम्रो विशेषता यसको लो सिट हाइट र रिल्याक्स्ड ह्याण्डलबार हो । जसले लामो दूरीको राइडमा थकान कम गराउँछ । क्रुजर सेग्मेन्टको प्रायः सबै मोटरसाइकलको पोजिसन यस्तै हुन्छ । यसको आरामदायी सिटिङ पोजिसनले लामो दूरीका यात्राका लागि पनि सहज बनाउँछ ।
स्मुथ इन्जिन
एभेन्जरमा १६० सीसीको सिंगल सिलिण्डर, टु भल्ब, ट्विन स्पार्क, आयल कुल्ड, एसओएचसी, डीटीएसआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १५ पीएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ । एभेन्जरमा राइड गरिरहँदा यसले क्रुजर किसिमकै स्मुथ फिल दिने काम गर्छ ।

राम्रो माइलेज
यस मोटरसाइकलको अर्को राम्रो पक्ष भनेको यसले दिने माइलेज हो । एभेन्जर १६० स्ट्रीट मोटरसाइकलले एक लिटर पेट्रोलबाट ४० देखि ४५ किलोमिटरसम्मको माइलेज दिन्छ । यो मोटरसाइकलमा १३ लिटर पेट्रोल अट्ने फ्युल ट्यांक पाउन सकिन्छ ।
सिंगल च्यानल एबीएस
मोटरसाइकलमा अगाडि डिस्क ब्रेकसँगै सिंगल च्यानल एबीएस सिस्टम रहेको छ । यसले राइडरको ब्रेकिङ सुरक्षालाई अझै बढाउँछ भने कन्फिडेन्स पनि बढ्छ । एभेन्जरको रियरमा भने ड्रम ब्रेक प्रयोग गरिएको छ ।
अन्य फिचरहरू
एभेन्जरमा धेरै एड्भान्स फिचरहरू भने दिइएको छैन । मोटरसाइकलमा सिम्पल किसिमको सिंगल पोड डिस्प्ले कन्सोल, राउण्ड आकारको हेडल्याम्प र सानो भाइजर, फ्रन्टमा टेलिस्कोपिक एन्टि फ्रिक्सन ब्रस तथा रियरमा ट्विन सक अब्जर्बार पाउन सकिन्छ ।

मूल्य
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले एभेन्जर १६० स्ट्रीटको मूल्य ३ लाख ८९ हजार ९०० रुपैयाँ तोकेको छ ।
बजाज एभेन्जर १६० स्ट्रीट मोटरसाइकल नेपालमा पहिलो पटक सन् २०२० तिर आएको हो । भारतमा भने सन् २००५ तिर सार्वजनिक भएको थियो । त्यो समय एभेन्जर १८० सीसी इन्जिनमा उपलब्ध थियो । कम्पनीले पछि इन्जिन रिफाइन गरेर यसलाई १५० सीसीमा ल्याएको हो । त्यसपछि बजाज अटोले सन् २०१९ देखि भारतमा बीएस ६ इमिसन अनिवार्य लागू भएपछि १६० सीसी इन्जिनमा निर्माण गरेको हो ।

