काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक नियोले आफ्नो प्रिमियम कम्प्याक्ट ईभी फायरफ्लाइको ‘राइट ह्याण्ड ड्राइभ’ संस्करण थाइल्याण्डमा सार्वजनिक गरेको छ ।
कम्पनीले यसको मूल्य मूल्य ७ लाख ९९ हजार थाई भाट (३६ लाख ९१ हजार नेपाली रुपैयाँ) तोकेर बिक्री सुरू गरेको हो ।
फायरफ्लाइ यसअघि सिंगापुर र युरोपका विभिन्न देशहरूमा बिक्री सुरू भइसकेको छ । नियोले फायरफ्लाइ ब्राण्ड सन् २०२४ डिसेम्बरमा सार्वजनिक गरेको थियो । सन् २०२५ अप्रिलदेखि फायरफ्लाइका कार बिक्री सुरू गरेको थियो ।
फायरफ्लाइको लम्बाइ ४००३ एमएम, चौडाइ १७८१ एमएम र उचाइ १५५७ एमएम छ । यसको ह्वीलबेस २६१५ एमएम छ ।
रियर-ह्वील-ड्राइभ सिस्टम रहेको फायरफ्लाइमा १०५ किलोवाटक इलेक्ट्रीक मोटर छ । यसले १४१ हर्षपावर तथा २०० न्युटन मिटर टर्क जेनेरेट गर्छ । यसमा ४२.१ किलोवाट आवरको एलएफपी ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ३३० देखि ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

यसले १०० किलोवाटसम्मकाे फास्ट चार्जर सर्पोट गर्छ ।जसले याे कार ३० मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन्छ । यो कारले ८.१ सेकेण्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेटाउन सक्छ । यसको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसमा भीटुएल र ब्याट्री स्वाप गर्न मिल्ने सुविधा छ । फायरफ्लाइको इन्टेरियरमा ६ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र १३.२ इन्चको सेन्टर कन्ट्रोलर छ । यसमा क्वालकम ८१५५ चिप प्रयोग गरिएको छ । अगाडि मसाज र कुलिङ सिट, १४ वटा स्पिकर भएको डल्बी एटमोस साउण्ड सिस्टम, २५६ किसिमका एम्यिन्ट लाइट छ ।
फायरफ्लाइमा १८ इन्चको ह्वील, ट्रिपल बीम एलईडी हेडलाइट, पानारोमिक सनरुफ, अगाडिको भागमा ९२ लिटर र पछाडि आवश्यकता अनुसार १२५३ लिटरसम्म बढाउन मिल्ने स्टोरेज स्पेस छ ।

सुरक्षाका लागि यसमा लेभल २ एडास सिस्टम, अटो पार्किङ, एडाप्टिभ क्रुज कन्ट्रोल, हाइवे लेन चेन्ज एसिस्ट, ९ वटा एयरब्याग उपलब्ध छ । यस कारको टर्निङ रेडियस केबल ४.७ मिटर छ ।
सुरक्षा मूल्यांकनमा यसले अब्बल रेटिङ पाएको छ । यसले चाइना एनक्याप र युरो एनक्याप दुवैमा फाइभ स्टार रेटिङ पाएको छ ।
थाइल्याण्डमा बिक्री सुरू भएसँगै फायरफ्लाइ चाँडै नेपालमा पनि आउने अनुमान गर्न सकिन्छ । नेपालमा नियोको आधिकारिक बिक्रेतामा पारामाउन्ट मोटर्स नियुक्त भइसकेको छ ।


