ईभीमा लय समाउँदै महिन्द्रा, चैतसम्म कति आयो नेपाल

काठमाडौं । विद्युतीय सवारी साधन उत्पादनमा अग्रणी मध्येको एक महिन्द्राले गत साउनमा सार्वजनिक गरेको एसयूभी निकै मोर्डन डिजाइनमा उपलब्ध छन् ।

गत साउन अन्तिममा आयोजना भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक भएको बीई सिक्स र एक्सईभी नाइन ई दुवै एसयूभी अहिले बिक्री हुँदै आएको छ । भारतमा निकै सफल मानिएका यी दुई एसयूभी नेपालमा बिक्री सुरू हुन भने समय लागेको थियो ।

दशैं र तिहार सकिएपछि मात्रै अग्नि इनकर्पोरेट प्रालिले बीई सिक्स र एक्सईभी नाइनको बिक्री थालेको थियो । कम्पनीले अहिलेसम्म ५ महिनाको अवधिमा दुई एसयूभी मिलाएर २२६ युनिट आयात गरिसकेको छ ।

महिन्द्राले यस अवधिमा बीई सिक्स धेरै आयात गरेको देखिन्छ । भन्सार तथ्यांक अनुसार अहिलेसम्म १८३ युनिट बीई सिक्स र ४३ युनिट एक्सईभी नाइन ई नेपाल आइसकेको छ ।


अग्निले सन् २०१० मै ईभी नेपाल ल्याएको थियो । महिन्द्राको ईटुओ मोडल भारतमा उत्पादन भएर नेपाल आएको पहिलो ईभी पनि हो । त्यसपछि आएको एक्सयूभी ४०० एसयूभीले भने खासै राम्रो व्यापार गर्न सकेन । तर, अहिले आएका दुई नयाँ एसयूभीको बिक्री भने ठिकठाक देखिएको छ ।

मूल्यका हिसाबले पनि महँगै सेग्मेन्टमा उपलब्ध महिन्द्राका दुई एसयूभी मोर्डन फिचरहरूले भरिपूर्ण छन् । बीई सिक्सको सुरूवाती भेरियन्टको मूल्य ५७ लाख रुपैयाँ छ भने एक्सईभी नाइन ईको सुरूवाती भेरियन्टको मूल्य ६९ लाख रुपैयाँ तोकेर बिक्री भइरहेको छ ।

यी दुवै एसयूभी समान २०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्सको साथ उपलब्ध छ । नेपालको सडकको अवस्था अनुसार २०७ एमएम ग्राउण्ड क्लियरेन्सलाई राम्रो मान्न सकिन्छ ।
नेपाली बजारमा महिन्द्रा बीई सिक्स ५९ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । पीकटर्क भने ३८० न्युटन मिटर छ ।

एक्सईभी नाइन ई भने दुई ब्याट्री अप्सन र दुई मोटर साइजमा किन्न पाइन्छ । यसको सानो ब्याट्री ५९ किलोवाट आवरको छ । यो ब्याट्रीसँग ९९ किलोवाटको मोटर छ । यसमा ठूलो साइजको ७९ किलोवाट आवरको ब्याट्री पनि छ । यो ब्याट्रीसँग १९९ किलोवाट क्षमताको मोटर छ ।

दुवै एसयूभी रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छन् । एक्सईभी नाइन ई ४७८९ एमएम लामो एसयूभी हो भने बीई सिक्स ४३७१ एमएम लामो एसयूभी हो ।


Back_to_top