मधेश प्रदेशमा सवारी दर्ता ५६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा सवारी दर्ता ५५.६६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८२/८३ को ‘मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदन’ले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनामा मधेश प्रदेशमा कुल ५० हजार ८३२ वटा सवारी दर्ता भएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा १८ हजार १७६ वटा धेरै हो ।

गत वर्ष ६ महिनामा मधेश प्रदेशमा ३२ हजार ६५६ वटा सवारी दर्ता भएका थिए । अघिल्लो आवको तुलनामा गत वर्ष सवारी दर्ता ३५.६१ प्रतिशतले कमी आएको थियो ।

चालु आवको ६ महिनामा मोटरसाइकल दर्ता ५८.७६ प्रतितशले बढेर ४२ हजार ३२३ वटा पुगेको छ । मोटरसाइकल बाहेक अन्य सवारीको दर्ता ४१.८६ प्रतिशतले वृद्धि भई ८ हजार ५०९ पुगेको छ ।

दर्ता भएका अन्य यातायात साधन अन्तर्गत इलेक्ट्रीक रिक्साको हिस्सा बढी रहेको छ । विप्रेषण आय दुईपाङ्ग्रेमा सवारी साधन खरिदमा खर्च गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।


Back_to_top