ब्राण्ड वाच : लीपमोटरको रफ्तारमा ब्रेक, नयाँ बाटो खोज्दै

काठमाडौं । कुनै पनि ब्राण्ड नेपाल प्रवेश गरेको छोटो समयमा नै ५०० युनिट हाराहारी कार आयात गरेर बिक्री गर्छ भने त्यो हाम्रो बजारको लागि निकै राम्रो मानिन्छ ।

साँग्रिला मोटर्सले नेपाल ल्याएको लीपमोटर सुरूवातदेखि नै चर्चा र बिक्री दुवै पाउन सफल ब्राण्ड हो । कम्पनीले लीपमोटरको सी-१० एसयूभी मार्फत नेपाली बजारमा प्रवेश गरेको थियो । सुरूवाती मोडल नै बजारको लागि ठूलो एसयूभी प्रदान गरेको कम्पनीले मूल्य पनि ७० लाख रुपैयाँभन्दा कम नै राख्यो ।

एकदमै मिनिमल डिजाइनमा तयार भएको सी-१० एसयूभी अहिलेसम्म ३५९ युनिट आयात भएको देखिन्छ । जुन संख्या निकै राम्रो हो । तर, २०२५ मे महिनापछि अहिलेसम्मको एक वर्षमा थप एक युनिट पनि आयात भएको छैन ।

चिनियाँ अटोमोबाइल कम्पनी लीपमोटरमा युरोपियन अटो ग्रुप स्टेलान्टिसले लगानी गरेसँगै यसको अन्तर्राष्ट्रिय बजारमा चर्चा भएको हो । लीपमोटरका उत्पादन अन्तर्राष्ट्रिय बजारमा चर्चा हुनुमा धेरै फिचर लोडेड कार हुनु, मूल्य निकै प्रतिस्पर्धी हुनु र निरन्तर प्रोडक्टको गुणस्तर सुधार हुँदै जानु हो ।

कम मूल्यमा धेरै फिचर भएका कार खोज्नेको लागि लीपमोटरले उत्कृष्ट उत्पादन दिँदै आएको छ । तर, नेपाली बजारमा बढ्दो प्रतिस्पर्धा र चलिरहेको प्राइस वारमा साँग्रिला मोटर्सले आफूलाई फरक देखाउन सकेको छैन । त्यसैले चल्तीको सेग्मेन्टमा आयात भएका कार पनि राम्रो बिक्री पाउन सकेको छैन ।

आयात खुम्चियो

सन् २०२४ सेप्टेम्बरबाट लीपमोटरका उत्पादन नेपाल प्रवेश गरेको हो । त्यही वर्ष असोजमा भएको वर्षाले चिनियाँ नाकासँगकाे सम्पर्क टुटेपछि समयमा नै गाडी आउन सकेन । त्यसको बाबजुद कम्पनीले १२० युनिट सी-१० एसयूभी ल्याएको थियो । त्यसपछि सन् २०२५ को मे महिनासम्ममा थप २३९ युनिट सी-१० नेपाल आयो । त्यसपछि कम्पनीले सी-१० अहिलेसम्म थप ल्याएको छैन ।

सन् २०२५ अगस्टमा बी-१० एसयूभी सार्वजनिक भयो । कम्पनीले निकै प्रतिस्पर्धी सेग्मेन्टमा ल्याएको बी-१० ले सोचेजस्तो व्यापार गर्न सकिरहेको छैन । मे १५ तारिखसम्म कम्पनीले केबल ८७ युनिट बी-१० एसयूभी नेपाल ल्याएको छ ।

टी-०३ पनि २०२५ मै नेपाल आएको मोडल हो । ह्याचब्याक सेग्मेन्टमा उपलब्ध कारमा फिचर लोडेड भएर पनि उपभोक्ताले चासो देखाएनन् । फलतः अहिलेसम्म ७४ युनिट टी-०३ आयात भएको देखिन्छ । लीपमोटर अहिलेसम्म सबै मिलाएर ५२० युनिट कार आयात गरेको छ ।

किन बलियो छ लीपमोटर

लीपमोटरको सबैभन्दा बलियो पक्ष मूल्य हो । मूल्यसँगै मूल्य अनुसार मोर्डन फिचर पनि प्रशस्त उपलब्ध छ । ठूला स्क्रीन, सनरुफ वा मुनरुफ, हिटेड/भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, हिट पम्प जस्ता फिचर उपलब्ध छन् ।

प्योर ईभी प्लेटफर्म र पावरफुल मोटर लीपमोटरको अर्को बलियो पक्ष हो । नेपाली बजारमा धेरै कम्पनीले मोटर पावर कम गरेर गाडी आयात गर्दा पनि लीपमोटरले १६० किलोवाटकै मोटरमा एसयूभी ल्यायो । ह्याचब्याक कारमा पनि ७० किलोवाट क्षमताको मोटर छ ।

चलाउन निकै सजिलो, राम्रो ग्राउण्ड क्लियरेन्स र स्मुद ड्राइभिङको लागि लीपमोटरका कार चर्चित बन्दै गएका छन् । फराकिला सिट, प्रशस्त लेगरुम, खुल्ला क्याबिन र आरामदायी सिटले चालक र यात्रु दुवैलाई सन्तुष्ट बनाइरहेको छ ।

युरोपियन ग्रुप स्टेलान्टिसको प्रवेशसँगै कम्पनीले गाडीको गुणस्तरमा पनि व्यापक सुधार गरेको छ । साथै, मूल्य अनुसारको फिचरहरू प्रशस्त प्रदान गरेको छ । यसलाई पनि कम्पनीको बलियो पक्ष मान्न सकिन्छ ।

कमजोरी कहाँ ?

नेपालको हकमा लीपमोटरले आफ्नो पोजिनिसिङ नै गर्न सकेन भन्दा फरक पर्दैन । ब्राण्ड बारे सचेतना जगाउने काम भएको देखिएन भने किन लीपमोटरका गाडी ठिक भन्ने कुरामा पनि ठोस काम गर्न सकेन ।

अन्तर्राष्ट्रिय बजारमा सफ्टवेयरमा समस्या आउँदा नेपाली उपभोक्ता सही उत्तर पाएनन् । यसमा प्रयोग भएको एडास निकै हस्तक्षपकारी मानिएको छ । यी सामान्य कमजोरी बाहेक ब्राण्ड बलियो छ । तर, नेपालमा उपस्थिति झन्झन कमजोर बन्दै गएको देखिन्छ ।

नयाँ बाटो खोज्दै

साँग्रिला मोटर्सले छिट्टै बजारमा ए-१० एसयूभी ल्याउने तयारी थालेको छ । आगामी नाइमा मोबिलिटी एक्स्पोसम्ममा नेपाल आउने ए-१० एसयूभी कम मूल्यको मोडल हुनेछ ।

कम मूल्यमा फिचर लोडेड एसयूभी ल्याएर बजारमा देखिएको खाडल पुर्ने योजनामा कम्पनी रहेको छ । कम्पनीको भविष्यसँग पनि धेरै हदसम्म ए-१० जोडिएको छ भन्दा फरक पर्दैन ।


Back_to_top