काठमाडौं । यही जेठ १५ गतेदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको लगेज (झोला)मा अनिवार्य ट्याग लगाउनुपर्ने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको हो ।
यात्रुको झोला हराउने वा साटिने समस्या अन्त्य गर्न, सामान सुरक्षित गर्न र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन ट्याग प्रणाली लागू गर्न लागिएको हो।
सम्झौता अनुसार ट्याग प्रणाली लागू भएसँगै बस काउन्टरबाट यात्रुको लगेजमा एउटा नम्बरसहितको ट्याग लगाइनेछ । र, सोही नम्बरको ट्याग यात्रुलाई पनि दिइने छ । गन्तव्यमा पुगेपछि दुवै ट्याग नम्बर भिडाएर मात्र सामान यात्रुलाई सामान हस्तान्तरण गरिने छ ।
ट्याग प्रणाली लागू भएसँगै विशेष गरी चाडपर्व, भीडभाड, रात्रिकालीन यात्राका क्रममा सामान हराउने र चोरी हुने समस्या रोकिने विश्वास लिइएको छ ।
ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा प्रविधिमैत्री तथा डिजिटल प्रणालीसमेत जोड्ने योजना बनाइएको छ । आवश्यक परे क्यूआर कोड वा डिजिटल रेकर्ड राख्ने अभ्यास पनि सुरू गर्न सकिने बताइएको छ ।
ट्राफिक प्रहरीले मनसुन अवधिमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारीसाधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ ।
सार्वजनिक यातायात क्षेत्रमा नयाँ सुरक्षा अभ्यासको रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्नुका साथै सार्वजनिक यातायात सेवा थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको छ।


