अब करोड माथि पर्नेछ यी इलेक्ट्रीक एसयूभीको मूल्य

काठमाडौं । नेपाली बजारमा यसअघि ७५-९० लाख हाराहारीमा बिक्री हुँदै आएका प्रिमियम इलेक्ट्रीक एसयूभीको मूल्य अब १ करोड माथि पुग्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत विद्युतीय कारमा नयाँ शिर्षकमा उच्च कर लगाएसँगै प्रिमियम इलेक्ट्रीक एसयूभी मूल्य ह्वात्तै बढ्ने भएको हो ।

सरकारले ईभीका लाग्दै आएको अन्तःशुल्क खारेज गर्दै नयाँ शिर्षकमा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लगाएको छ । यो कर मूल्यका आधारमा स्ल्याब अनुसार न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम १३० प्रतिशतसम्म लगाइएको छ । पहिला मोटर पिक पावरमा आधारमा लगाइने ईभीको कर निर्धारण अब मूल्यका आधारमा गरिने छ ।

बजेटले इन्ट्री लेभल र मध्यम वर्गका कारमा स्वच्छ पूर्वाधार लगानी शुल्क तुलनात्मक रुपमा कम लगाए पनि प्रिमियम कारमा भने १३० प्रतिशतसम्म लगाइएको छ । त्यसैले यसअघि ७५-९० लाख हाराहारीमा बिक्री हुँदै आएका कारको मूल्य अब १ करोड माथि पुग्ने भएको हो ।

नयाँ करको दर अनुसार प्रिमियम ईभीको मूल्य २० देखि ४० प्रतिशतसम्म बढ्ने देखिएको छ । पुरानो व्यवस्था अनुसार अहिले बजारमा चल्तीमा प्रिमियम ईभीमा १५६ प्रतिशतसम्म कर लाग्ने गरेकोमा अब कुल २२७ प्रतिशतसम्म लाग्छ । जसकारण मूल्यमा ठूलो उलटफेर हुने देखिएको हो ।

अहिले ७५ लाख माथि पाइने अधिकांश कारको भन्सार कारोबार (सीआइएफ) मूल्य ४० लाख माथि छ । यस्ता कारमा अब भन्सार २० प्रतिशत, स्वच्छ पूर्वाधार लगानी शुल्क ९० प्रतिशत, सडक निर्माण दस्तुर ५ प्रतिशत र भ्यात १३ प्रतिशत गरी कुल १७० प्रतिशत कर लाग्छ । त्यस्तै, सीआइएफ मूल्य ५० लाख माथिका कारमा स्वच्छ पूर्वाधार लगानी शुल्क मात्रै १३० प्रतिशत लाग्ने भएकाले कुल २२७ प्रतिशत कर लाग्छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै एक कार्यक्रममा ५० लाख रुपैयाँ माथिका कार लग्जरी भन्दै उच्च कर लगाइएको बताएका थिए । उनले साना कारलाई करमा सहुलियत दिइएको तर, लग्जरी कारमा छुट दिन नसक्ने बताएका थिए ।

यी हुन् १ माथि पुग्ने चल्तीका कार

हाल नेपालमा प्रिमियम सेग्मेन्टमा दर्जन बढी मोडलका ईभी बिक्री भइरहेका छन् । बीवाइडीदेखि टेस्ला, बीएमडब्लूसम्मका ईभी उपलब्ध छन् ।

तीमध्ये बिवाइडी सिलायन सेभने, महिन्द्रा बीई सिक्स, एमजी आइएम सिक्सm दीपल एस ०७ र ई ०७, अवतार ११, एक्सेपेङ जी ६ लगायत मोडल चल्तीमा देखिएका छन् ।

हाल बीवाइडी सिलायन सेभेन ७९ लाख ९५ हजार, एमजी आइएम सिक्स ७५ लाख, दीपल एस ०७ ७५ लाख, ई ०७ १ करोड ३ लाख, महिन्द्रा एक्सईभी नाइन ई टप भेरियन्ट ९५ लाख, एक्सपेङ जी सिक्स ८५ लाख, अवतार ११ १ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

अब नयाँ कर अनुसार अहिले ७५ लाखमा पाइने कारको मूल्य १ करोड माथि पर्ने देखिन्छ । अवतार ११ जस्ता मोडलको मूल्य २ करोड रुपैयाँ नाघ्ने छ ।


Back_to_top