काठमाडौं । चांगानको न्यू इनर्जी ब्राण्ड निभोले नयाँ एसयूभी तयार पारेको छ । कम्पनीले क्यू-०६ एसयूभी बजारमा ल्याउने भएको हो ।
चिनियाँ उत्पादकले क्यू ०६ सार्वजनिक गर्दै बजारमा नयाँ उत्पादन बिक्रीको लागि तयार हुन लागेको जनाउ दिएको हो । पाँच सिट क्षमताको क्यू ०६ एसयूभी नेपाल आउन लागेको निभो क्यू-०५ भन्दा ठूलो साइजमा उपलब्ध हुनेछ ।
यसको लम्बाइ ४८३७ एमएम, चौडाइ १९७० एमएम र उचाइ १६७० एमएम हुनेछ । यसमा २९४० एमएम लामो ह्वीलबेस रहने छ । लामो ह्वीलबेसको कारण यसको क्याबिनमा एथेस्ट स्थान र आरामदायी यात्राको लागि उपयुक्त हुने सहजै अनुमान लगाउन सकिन्छ ।
कम्पनीले निभो-०६ मा रहने ब्याट्री साइजको विषयमा कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । तर, यसलाई तीन मोटर अप्सनमा ल्याउने घोषणा भने गरिसकेको छ । कम्पनीका अनुसार रियर ह्वील ड्राइभमा २१० किलोवाट र २२५ किलोवाटको दुई मोटर अप्सन पाउन सकिन्छ ।
निभोले यसको अल ह्बील ड्राइभ भेरियन्टमा ३३० किलोवाटको मोटर दिनेछ । चीनमा भने यसको रेन्ज एक्सटेन्डर हाइब्रिड मोडल पनि उपलब्ध हुनेछ । यसमा १.५ लिटर क्षमताको पेटोल इन्जिन पनि रहने छ ।
कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको निभो ०६ एसयूभीमा एलएफपी ब्याटी रहने छ । भेरियन्ट अनुसार १९, २० र २१ इन्चको ह्वील उपलब्ध हुने एसयूभीमा निकै फराकिला टायर प्रयोग हुनेछन् ।
निभो क्यू ०६ एसयूभीको अगाडि डबल विस्बोन र पछाडि फाइभ लिंक मल्टी लिंक सस्पेन्स प्रयोग हुनेछ । जसको प्रयोगले क्यू-०६ को ह्यान्डलिङ र राइड कम्फर्ट राम्रो हुने अपेक्षा गरिएको छ ।
चांगानले निभो क्यू-०६ एसयूभीको क्याविनमा ठूलो फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल क्लस्टर, प्यानोरामिक ग्लास रुफ दिएको छ । त्यसको साथै टेक फिचरलाई बलियो बनाउन ओभर दी एयर अपडेट, लाइडार सहितको एडास फिचर, एआई भ्वाइस एसिस्ट उपलब्ध छ ।
यसको ड्यासबोर्ड निकै उत्कृष्ट मेटेरियरले बनेको छ । सिटहरु लेदरको पाउन सकिन्छ । इलेक्टीक एड्जस्टेबल सिट, भेन्टीलेटेड तथा हिटेड सिटको कारण यसको क्याबिन निकै उत्कृष्ट लाग्छ ।


