काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका थप ५१ वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाएको छ ।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ३६ ओटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
ती सवारी साधनहरु काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका हुन् । ट्राफिक प्रहरीले प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारेको हो ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवतरजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


