काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहको सेवा प्रभावित भएको छ । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणाली (ईडीएल) तथा सवारी दर्तासम्बन्धी प्रणाली (भीआरएस र ईभीआरएस)मा आंशिक अवरोध हुँदा देशभरका कार्यालयहरूको सेवा प्रभावित भएको हो ।
अनलाइन प्रणाली नचल्दा लाइसेन्स नवीकरण, ब्लूबुक नवीकरण, नयाँ सवारी दर्ता, लाइसेन्सको आवेदन दिने लगायत काम ठप्प भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार सिस्टम अपग्रेड, डेटा माइग्रेसन र सेवाग्राहीको अत्यधिक चापका कारण विद्यमान प्रणालीमा आंशिक अवरोध उत्पन्न हुँदा मुलुकका अधिकांश स्थानमा सेवा प्रभावित भएको छ ।
हाल ईडीएल र भीआरएस÷ईभीआरएस प्रणालीमा निरन्तर सुधार र अद्यावधिक गर्ने क्रममा रहेको उल्लेख गरेको छ । सरकारले सवारी तथा यातायात सम्बन्धी नयाँ प्रणाली कार्यान्वयनको तयारी गरिरहेको र सोही प्रक्रियाअन्तर्गत प्रणाली स्तरोन्नति तथा डेटा माइग्रेसनको काम भइरहेकाले सेवा अवरोध भएको विभागले स्पष्ट पारेको छ ।
साथै, प्रदेश सरकारमार्फत नयाँ यातायात कार्यालय विस्तार भइरहेको र आर्थिक वर्षको अन्त्यतिर सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले सीमित क्षमताको प्रणालीमा अतिरिक्त दबाब परेको विभागको भनाइ छ ।
विद्यमान प्रणालीका समस्या समाधान तथा सेवा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको र यथाशीघ्र सम्बोधन तथा व्यवस्थापन गर्न प्रयत्नशील रहेको विभागको भनाइ छ ।


