जो मन्त्रीबाट राजीनामा दिएर बीवाइडीमा जागिर खान गए

काठमाडौं । हंगेरीका पूर्वपरराष्ट्र तथा व्यापार मन्त्री पिटर सिज्जार्टो विश्वकै ठूलो एनईभी उत्पादक बीवाइडीका कर्मचारीका रूपमा नियुक्ति लिएका छन् ।

मन्त्री पिटरले हालै पदबाट राजीनामा दिएर बीवाइडीमा आबद्ध भएका हुन् । उनी बीवाइडीमा एक्स्र्टनल रिलेसन तथा नयाँ व्यापार विस्तारको कार्यकारी पदमा नियुक्त भएका हुन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार पिटर सिज्जार्टोले १५ जुलाई २०२६ मा मन्त्री पदबाट राजीनामा दिएका थिए । ४७ वर्षीय सिज्जार्टो सन २००२ देखि राष्ट्रिय सभा सदस्य रहेको थिए । उनले सन् २०१४ देखि यस वर्षको मे महिनासम्म परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

मन्त्रीपद छाडेर बीवाइडीमा नियुक्त भएको जानकारी गराउँदै उनले फेसबुकमा लेखेका छन्, ‘बीवाइडी पछिल्लो २ दशकमा अटोमोबाइल उद्योगमा सबैभन्दा सफल कम्पनी मध्येका एक हो र न्यू इनर्जी भेहिकल उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी हो । आजदेखि म एक्स्र्टनल रिलेसन र नयाँ व्यापार विस्तारको कार्यकारी पदको जिम्मेवारी सम्हाल्नेछु ।’

सिज्जार्टोको बीवाइडीमा नियुक्तिलाई हंगेरी र चीनबीच ईभी सवारीसाधन क्षेत्रमा रणनीतिक सहकार्य बन्दै गएको संकेतको रूपमा हेरिएको छ । बीवाइडीले सन् २०२४ मा हंगेरीको सेगेड सहरमा आफ्नो पहिलो युरोपेली प्लाण्टनको निर्माण सुरू गरेको थियो । त्यसयता युरोपमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गरिरहेको छ ।

गत वर्ष हंगेरी सरकार र बीवाइडी बीच रणनीतिक सहकार्य सम्झौता हस्ताक्षर भएको थियो । उक्त सम्झौता अनुसार बीवाइडीले बुढापेस्टमा आफ्नो युरोपेली हेडक्वाटर स्थापना गर्ने तथा आरएनडी सेन्टर संचालन गर्ने योजना अघि बढाएको थियो ।

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा हंगेरीका तत्कालीन प्रधानमन्त्री भिक्टर ओर्बानले विश्वले अहिले नयाँ प्रविधि र परिर्वतनशील उपभोक्ताको मागले नयाँ युगमा प्रवेश गरिरहेको बताएका थिए ।

उनले विद्युतीय सवारी प्रविधिमा चीनको अग्रणी भूमिका उल्लेख गर्दै बीवाइडीसँगको रणनीतिक सहकार्य हंगेरीको आर्थिक विकासका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेका थिए । साथै, यस साझेदारीले हंगेरीलाई अटोमोबाइल प्रविधिको नयाँ युगमा अग्रणी राष्ट्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उनको भनाइ थियो ।

बीवाइडले हंगेरीमा वार्षिक ३ लाख युनिट उत्पादन क्षमता भएको उत्पादन केन्द्र निर्माण गरिरहेको छ। साथै कम्पनीले बुडापेस्टमा आफ्नो युरोपेली मुख्यालय पनि स्थापना गर्दैछ ।

पछिल्ला केही वर्षयता चीनको नयाँ ऊर्जा सवारीसाधन आपूर्ति शृंखलामा आबद्ध धेरै कम्पनीहरूले हंगेरीमा आफ्नो उपस्थिति विस्तार गरेका छन् ।


Back_to_top