काठमाडौं । नेपाली बजारमा एकपछि अर्को नयाँ अटो ब्राण्ड आउने क्रम जारी छ । आगामी साउन र भदौमा हुने अटो शोमा आधार दर्जन बढी नयाँ ब्राण्ड भित्रिँदै छन् ।
यसैक्रममा चीनको सबैभन्दा प्रिमियम लग्जरी ब्राण्ड हङछी नेपाल आउने भएको छ । एडभान्स्ड अटोमोबाइल प्रालिले हङछी ब्राण्ड नाइमा मोबिलिटी एक्स्पो मार्फत नेपाल प्रवेश गराउने भएको हो ।
हङछी चीनको ऐतिहासिक प्रिमियम लग्जरी ब्राण्ड हो । यस ब्राण्डलाई विश्व बजारमा ‘चीनको रोल्स रोयस’ भनेर चिनिन्छ । किनभने यसको डिजाइन, शान र विलासिता निकै उच्च स्तरको हुन्छ ।
सुरुमा हङछीका गाडी सर्वसाधारणका लागि बिक्री गरिँदैनथ्यो । यो केवल चीनका उच्च पदस्थ सरकारी अधिकारीहरू, कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू र विदेशी राष्ट्रप्रमुखहरूको सवारीका लागि मात्र विशेष रूपमा निर्माण गरिन्थ्यो । त्यसैले यसलाई चीनमा एक ‘स्टेट भेहिकल’ वा प्रतिष्ठाको प्रतीक मानिन्छ ।
हङछी पूर्ण रूपमा चिनियाँ सरकारको स्वामित्वमा रहेको ब्राण्ड हो । यसको व्यवस्थापन चीनको सरकारी स्वामित्वको अटोमोटिभ जायन्ट एफएडब्लू ग्रुपले गर्दै आएको छ ।
हङछीले कम्बस्चन इन्जिन, हाइब्रिड र प्योर ब्याट्री इलेक्ट्रीक भेहिकल पावर ट्रेनका कार उत्पादन गर्दै आएको छ । सोमध्ये नेपालमा विद्युतीय कार आउन लागेको हो ।
चीनमा हङछीका ई एचएस ४, एचएस ३, ई क्यूएम ५, ई एचएस ७, ई एचएस ९, ईएच ७ लगायत मोडल उपलब्ध छन् । तीमध्ये एड्भान्सले सुरुमा ई एचएस ४ र ई एचएस ९ मोडल नेपाल ल्याउन लागेको हो । ती गाडी आयात प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।
२०२५ को तथ्यांक अनुसार हङछीले घरेलु र विश्व बजारमा ४ लाख ६० हजार वटाभन्दा बढी कार बिक्री गरेको थियो। आइसीई इन्जिन कार बनाउँदै आएको हङछी पछिल्लो समय विद्युतीय सवारी उत्पादनमा आक्रमक बनिरहेको छ । गत वर्ष हङछीले करिब डेढ लाख एनईभी बिक्री गरेको थियो ।
हाल हङछीले युरोप, मध्यपूर्व र दक्षिणपूर्वी एसियाका प्रमुख बजारहरूमा आफ्नो उपस्थिति बलियो बनाइसकेको छ । सन् २०२८ सम्ममा युरोपका २५ वटा देशमा १५ वटा नयाँ इलेक्ट्रिक र हाइब्रिड मोडेलहरू सार्वजनिक गर्ने गर्ने आक्रमक योजना अघि बढाएको छ ।


