काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी काम अनलाइन प्रणालीबाटै हुने भएको छ ।
यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सम्बन्धी अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ ।
विभाग नयाँ अनलाइन् प्रणाली संचालनमा ल्याएसँगै सेवाग्राहीले यस्तो सुविधा पाउने भएका हुन् । विभागका अनुसार अब अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरणहरू स्वतः भर्न (अटोफिल) सक्नेछन् । सेवाग्राहीले लाइसेन्सको आवेदन दिँदा आफ्नो विवरण टाइप गरिराख्नु पर्दैन । जसले गर्दा विवरण टाइप गर्दा हुने त्रुटि हट्ने र समयको बचत हुने विभागले जनाएको छ ।
त्यस्तै, सेवाग्राहीले लाइसेन्सको नयाँ आवेदन र नवीकरणको दस्तुर पनि अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन् । यस व्यवस्थाले सेवाग्राहीलाई फारम भर्न र राजस्व तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यताबाट मुक्त गराएको विभागको भनाइ छ ।
अब लाइसेन्स बनाउँदा सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ । चाँडै स्वास्थ्य जाँचको प्रतिवेदनलाई समेत अनलाइनमै आबद्ध गर्ने तयारी भइरहेको विभागको भनाइ छ ।
लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल बनाएको छ । सेवाग्रहीले अब आफ्नो प्रदेश अनुसारको वेबसाइटमा गई अनलाइन सेवा लिन सक्नेछन् ।
लाइसेन्सका सबै सेवा अनलाइनबाटै हुने भएपछि यातायात क्षेत्रको सेवा सहज, छिटो, पारदर्शी र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ ।



