काठमाडौं । वेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक खण्ड र पासाङ ल्हामु राजमार्ग अन्तर्गत ग्राङदेखि धुन्चेसम्मको सडकमा राति सवारी साधन चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले उक्त सडकमा अर्को सूचना जारी नभएसम्म साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक सेवाका बाहेक सवारी संचालनमा रोक लगाइएको हो ।
प्रशासनका अनुसार गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसूचना एवम् जिल्ला सुरक्षा समितिको आजको निर्णयानुसार सम्भावित सडक कटानी र जोखिमयुक्त सडक, मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै सवारी संचालनमा रोक लगाइएको हो ।
उक्त सडक खण्डमा भिरालो धरातलीय भू-बनोट, कमजोर चट्टान/माटोको प्रकृति, नदी किनाराका सडकहरू कटानीका जोखिम रहेको प्रशासनको भनाइ छ ।
‘…यस जिल्लाको वेत्रावती-मैलुङ-स्याफ्रुबेँशी-रसुवागढी सडक खण्ड र पासाङ ल्हामु राजमार्ग अन्तर्गत ग्राङदेखि धुन्चेसम्मको सडक खण्डमा मिति २०८३।०४।०४ गतेबाट अर्को सूचना प्रकाशन नभए सम्मका लागि आतेजाते साँझ ०७ः०० बजेदेखि बिहान ०५:०० बजेसम्म अत्यावश्यक (एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन) बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको बेहोरा सम्बन्धित सम्पूर्ण यातायात व्यवसायी, सरोकारवाला एवम् सर्वसाधारणको जानकारीका लागि अनुरोध छ,’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ ।



