काठमाडौं । नाडा अटो शो २०२६ मा चारपाँग्रे सवारीसाधनको चमकधमक बीच एउटा मोटरसाइकलले पनि दर्शकको विशेष ध्यान तान्यो । निकै लामो ग्यापमा यामाहाले नेपाल ल्याएको XSR 155 त्यही मोडल हो ।
नेपालमा यामाहाका लागि XSR 155 केवल अर्को नयाँ उत्पादन मात्र बनेन, यसले ब्राण्डको चर्चालाई नयाँ उचाइमा लग्यो । नाडा अटो शोमा सार्वजनिक भएको निओ–रेट्रो डिजाइनको मोटरसाइकल ६ दिनमा ४२८ युनिट बुकिङ भएको आधिकारिक बिक्रेता एमएडब्लू राइडले जानकारी दिएको छ ।
यसको रोचक पक्ष के छ भने, नाडा अटो शोअघि नै मोटरसाइकल बुकिङ गर्ने ग्राहकले समेत करिब एक महिनापछि मात्रै डेलिभरी पाउने छन् । नेपाली बजारमा नयाँ–नयाँ ब्राण्ड र मोडलको भीडमा XSR 155 प्रति देखिएको आकर्षणले धेरैलाई चकित बनाएको छ ।
पावरमा आर१५, विल्कुलै फरक डिजाइन
यामाहा XSR 155 को सबैभन्दा ठूलो बल यसको इन्जिन हो । यसमा प्रयोग भएको १५५ सीसी लिक्विड–कुल्ड इन्जिन नेपाली मोटरसाइकल पारखीका लागि नयाँ होइन । यही इन्जिन यामाहाको लोकप्रिय आर १५ र एमटी–१५ जस्ता मोटरसाइकलमा प्रयोग भइसकेको छ ।
त्यसैले ग्राहकले XSR 155 किन्दा नयाँ मोटरसाइकलसँगै परीक्षण नभएको नयाँ इन्जिनको जोखिम लिनु पर्दैन । यसको पर्फमेन्स यसअघि नै बजारमा पुष्टि भइसकेको छ ।
आधुनिक लिक्विड–कुल्ड इन्जिन, डेल्टाबक्स फ्रेम र यामाहाको स्पोर्टी मेकानिकल प्याकेजले XSR 155 लाई केवल हेर्दा राम्रो मोटरसाइकल मात्र नभई चलाउन पनि रमाइलो बनाएको छ ।
यसले युवा ग्राहकलाई एउटा फरक फिल गराउँछ । आर १५को पर्फमेन्स, तर विल्कुलै फरक डिजाइन ।
मोटरसाइकलको भिडमा अलग देखिन चाहनेहरूको लागि यामाहा दिएको यो गिफ्ट नै हो । १५० सीसी सेग्मेन्टमा उपलब्ध अधिकांश मोटरसाइकलको डिजाइन या त स्पोर्टी छ, या एग्रेशिभ । तर, यामाहा XSR 155 भने निओ रेट्रो डिजाइनमा छ ।
गोलाकार एलईडी हेडल्याम्प, टियरड्रप आकारको फ्युल ट्यांक, मिनिमल बडी डिजाइन र प्रिमियम फिनिसिङले यसलाई सडकमा रहेका अन्य मोटरसाइकलभन्दा फरक बनाएको देखिन्छ ।
आजको युवा पुस्तामा मोटरसाइकल केवल यातायातको साधन मात्र होइन। उनीहरूका लागि मोटरसाइकल आफ्नो व्यक्तित्व र लाइफस्टाइल देखाउने माध्यम समेत बनिरहेको छ । यस्तोमा यामाहा XSR 155 आकर्षक विकल्प बनेको छ ।
फेरिएको बजारमा नयाँ विकल्प
नेपाली मोटरसाइकल बजारमा ग्राहकको खरिद व्यवहार परिवर्तन भइरहेको देखिन्छ । केही वर्षअघि मोटरसाइकल किन्दा अधिकांश ग्राहकको पहिलो प्रश्न इन्जिन कति सीसीको छ ? माइलेज कति दिन्छ ?
अहिले त्यो समीकरण बदलिँदै गएको छ । डिजाइन, ब्राण्ड इमेज, पर्फमेन्स, टेक्नोलोजी, कम्फर्ट र लाइफस्टाइल अपिलले समेत खरिद निर्णयमा ठूलो भूमिका खेल्न थालेको छ ।
XSR 155 ले ‘रेट्रो देखिने तर पुरानो नलाग्ने’ डिजाइन दर्शन अपनाएको छ । जसको कारण नाडा अटो शो अवलोकन गर्ने युवाहरूलाई यसले तानेको हो ।
महँगो मोटरसाइकलमा ब्राण्ड खोज्ने धेरै
मोटरसाइकलको मूल्य बढेसँगै ग्राहकको प्राथमिकता पनि बदलिन्छ । ५ लाख रुपैयाँभन्दा माथिको मोटरसाइकल खरिद गर्ने ग्राहकले केवल डिजाइन र इन्जिन मात्र हेर्दैनन् । उनीहरूले सर्भिस नेटवर्क, स्पेयर पाट्र्सको उपलब्धता, मर्मत खर्च र रिसेल भ्यालुलाई समेत महत्व दिन्छन् ।
यही ठाउँमा यामाहाको स्थापित उपस्थिति XSR 155 का लागि अर्को बलियो पक्ष बनेको छ । नेपालमा यामाहा बिक्री गर्दै आएको एमएडब्लू राइडसँग देशभर फैलिएको डिलर तथा सर्भिस नेटवर्क छ । लामो समयदेखि नेपाली बजारमा उपस्थित यामाहाले बनाएको ब्राण्ड विश्वास पनि बलियो छ ।


