आइएम मोटर्सले ८ दिनपछि ल्याउँदै जहाजको जस्तै सुरक्षा भएको कार

काठमाडौं । एसएआइसी ग्रुपले ‘आइएम एलएस-६’ मोडलमा हवाइ जहाजको जस्तै सुरक्षा फिचर दिएर ल्याउने भएको छ । कम्पनीले ८ दिनपछि प्रि-सेल्स सुरु गर्न लागेको आइएम एलएस-६ सुरक्षाको हिसावले उत्कृष्ट मोडल हुने भएको हो ।

यसअघि नै चीनमा बिक्री हुँदै आएको आईएम एलएस-६ लाई अपग्रेड गरेर पूर्ण रूपमा ‘स्टियर-बाइ-वायर’ च्यासिसमा ल्याउन लागिएको हो ।

कम्पनीका अनुसार विमानमा प्रयोग हुने ‘फ्लाइ-बाइ-वायर’सँग ‘स्टियर-बाइ-वायर’ले बराबरी गर्नेछ । आईएम मोटर्सले ‘स्टियर-बाइ-वायर’लाई आफ्नो ‘नेक्स्ट-२०२८’ रणनीति अन्तर्गतको महत्वपूर्ण उत्पादन मानेको छ ।

आगामी सेप्टेम्बर १० बाट प्रि-सेल्स सुरु हुने एलएस-६ को मूल्य करिब २ लाख युआन अर्थात् २९ हजार ५ सय डलर कायम हुने बताइएको छ । कम्पनीले नयाँ एलएस-६लाई जमिनमा गुड्ने ‘ए-३२०’ समेत भनेको छ ।

कम्पनीका अनुसार एलएस-६ को सबै भेरियन्टमा एनईओ पावरट्रेन आर्किटेक्चर, पूर्ण स्टियर-बाइ-वायर च्यासिस, आईएम क्लअ एआई एजेन्ट तथा ‘सुपर फस्र्ट क्लास’ सिटिङ प्याकेज उपलब्ध हुने छ ।

गत महिना चीनमा परीक्षणको क्रममा एलएस-६को इन्टेरियर तस्बिर बाहिर आएको थियो । जहाँ परम्परागत स्टेयरिङ ह्विल देखिएको थिएन ।
आईएम एलएस-६ पहिलो पटक अक्टोबर २०२३ मा सार्वजनिक भएको मोडल हो । नयाँ एलएस-६ले टेस्ला मोडल वाई, शाओमी वाईयू-७ लगायतका मोडलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।


Back_to_top