बीवाइडीका ईभीको माग चीन बाहिर उच्च

काठमाडौं । विश्व अटोमोबाइल बजारमा बीवाइडीले तीव्र विस्तार र चर्चा पाउन थालेको सन् २०२२ बाट हो । नेपालमा सन् २०२२ को अन्तिम तिर एटो-थ्री ल्याएसँगै यहाँ पनि बीवाइडीको चर्चा चुलिएको थियो ।

विश्व बजारमा बीवाइडीको बलियो प्रवेश नै सन् २०२२ हो । अझ भनौं धेरै देशमा बीवाइडी २०२२ बाटै भएको थियो भन्दा फरक पर्दैन । तर, नेपालमा भने सन् २०१७ मै बीवाइडीले प्रवेश पाएको थियो ।

बीवाइडीको संख्यात्मक उत्पादन र बिक्री २०२२ बाटै भएको हो । त्यो वर्ष बीवाइडीले १८ लाख ५७ हजार ३७९ युनिट विद्युतीय साधन उत्पादन गरेको थियो । जसमध्ये ५० हजार २१ युनिट ईभी निर्यात गरेको थियो ।

सन् २०२३ मा बीवाइडीले आफ्नो उत्पादन तीव्र्र गतिमा बढायो । कम्पनीको वार्षिक बिक्री ३० लाख १२ हजार ९०६ युनिट पुग्यो । त्यसमा अघिल्लो वर्ष ५० हजार युनिट रहेको निर्यात झण्डै ५ गुणा वृद्धि गर्दै २ लाख ४२ हजार ७६५ युनिट पुग्यो ।

उत्पादन वृद्धि र निर्यातलाई सँगसँगै अगाडि बढाएको बीवाइडीले सन् २०२४ मा ४२ लाख ५० हजार ३७० युनिट न्यू इनर्जी भेहिकल उत्पादन गर्न सफल भयो । त्यसमध्ये चीन बाहिर ४ लाख १७ हजार २०४ युनिट बिक्री गरेको थियो ।

बिक्री वृद्धिको हिसाबले निकै राम्रो गरिरहेको बीवाइडीले सन् २०२५ मा ४५ लाख ५० हजार ३६ युनिट न्यू इनर्जी भेहिकल बनायो । जसमा पहिलो पटक एक वर्षमै १० लाख युनिट निर्यातको रेकर्ड बन्यो । तर, कम्पनीको चीनमा बिक्री संख्या भने घट्यो ।

कम्पनीले सन् २०२४ मा ३८ लाख ३३ हजार १६६ युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेकोमा सन् २०२५ मा घटेर ३५ लाख ३ हजार ९५३ मा झरेको थियो ।

चालु वर्ष २०२६ को ८ महिनामा बीवाइडीले २६ लाख २१ हजार ७७७ युनिट कार उत्पादन गरेको छ । त्यसमध्ये ११ लाख ६१ हजार ५६३ युनिट अन्तर्राष्ट्रिय बजारमा पठाएको उल्लेख छ । अहिलेसम्म कम्पनीले केबल १४ लाख ६० हजार २१४ युनिट कार मात्रै चिनियाँ बजारमा होलसेल बिक्रीको लागि पठाएको देखिन्छ ।


Back_to_top