बुकिङपछि चेरी क्यू कुरेर बसेका ग्राहकले कहिले पाउँछन् कार ?

काठमाडौं । सार्वजनिक भएको छोटो समयमै राम्रो संख्यामा बुकिङ प्राप्त गरेको चेरी क्यूको पर्खाइमा उपभोक्ताहरु छन् । कम्पनी पनि आफ्नो गाडी बुकिङ गर्ने ग्राहकलाई गाडी दिन निकै मिहिनेत गरिरहेको देखिन्छ ।

पायोनीयर मोटोकर्पले नाइमा नेपाल मोबिलिटी एक्स्पो र त्यसलगत्तै सम्पन्न नाडा अटो शोमा चेरी क्यू ठूलो संख्यामा बुकिङ लिएको छ । सम्भत एक हजार युनिट आसपासकै बुकिङ कम्पनीले पाएको हुन सक्छ ।

यति धेरै मानिसले बुकिङ गरेको कारण यसको प्रतिक्षा पनि धेरैले गरेको अनुमान लगाउन सकिन्छ । क्रसओभर डिजाइनसहित आएको चेरी क्यूले डिजाइन, प्रविधि र मूल्यका कारण धेरैको ध्यान तानेको थियो ।

अहिले कम्पनीका लागि सबैभन्दा ठूलो चुनौती चीनबाट गाडी नेपाल भित्र्याउने विषय बनेको छ । चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी अहिले संचालनमा छैनन् । रसुवागढी क्षेत्रमा आएको बाढीले सडक तथा पूर्वाधारमा क्षति पुगेपछि आयात/निर्यात प्रभावित भएको छ ।

त्यसैगरी तातोपानी नाका पनि जोखिमपूर्ण अवस्था भन्दै चीन सरकारले अर्को सूचना प्रकाशित नभएसम्मको लागि भन्दै बन्द गरिदिएको छ । अहिले गाडी ल्याउन सकिनेगरी कोरोला नाका मात्रै संचालनमा छ ।

चेरी क्यू प्लान्टबाट हिडिसकेको छ । केही दिनमै तातोपानी नाका खुल्ने कुरा भएको कारण कम्पनीले वैकल्पिक उपायसहित काम गरिरहेको जनाएको छ ।

पायोनियर मोटो कर्पका निर्देशक गौरब सारडाले कम्पनीले सेप्टेम्बर अन्तिमसम्म चेरी क्यू काठमाडौं ल्याउने लक्ष्यसहित काम गरिरहेको बताए ।

‘हामी प्राथमिकता सुरुमा बुकिङ गरेका ग्राहकलाई सकेसम्म छिटो गाडी डेलिभरी गर्ने हो । अहिले नाकाको अवस्थाले केही चुनौती सिर्जना गरेको छ । तर, वैकल्पिक व्यवस्थासहित सेप्टेम्बर अन्तिमसम्म गाडी काठमाडौं ल्याउने गरी काम गर्दैर्छौ’, निर्देशक सारडाले भने ।

उपभोक्ता किन झुम्मिए चेरी क्यूमा ?

चेरी क्यू नेपाली बजारमा मूल्य, डिजाइन र फिचरको संयोजनका कारण चर्चामा आएको मोडल हो । कम्पनीले यसको कम्फर्ट भेरियन्टको नियमित मूल्य ३४ लाख ४९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

तर, प्रदर्शनी अफरअन्तर्गत कम्फर्ट भेरियन्ट ३० लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइएको थियो । यही आक्रामक मूल्यले ग्राहक आकर्षित भएको बुझ्न कठिन छैन ।

चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यसले एकपटकको फुलचार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिन्छ ।

चार्जिङका हिसाबले पनि क्यू निकै आधुनिक देखिन्छ । यसले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । कम्पनीका अनुसार ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब १६ मिनेट लाग्छ ।

फिचरमा पनि आकर्षक

कम्पनीका अनुसार चेरी क्यूको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ । यसमा ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा, १५.६ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी सुविधा समेटिएको एडास सिस्टम दिइएको छ ।

उन्नत विद्युतीय प्लेटफर्ममा निर्माण गरिएको चेरी क्यूमा रियर ह्वील ड्राइभ सिस्टम छ । यसको इन्टेरियर पनि फराकिलो र व्यावहारिक लाग्छ । ३७५ लिटरको बुट स्पेस र त्यसलाई पछाडिको सिट फोल्ड गरेर १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिन्छ ।

डिजाइनका कारण पनि चेरी क्यू अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको मोडल हो । यसले रेड डट डिजाइन अवार्ड २०२५ र आइएफ डिजाइन अवार्ड २०२६ समेत जितेको छ ।


Back_to_top