काठमाडौं । बीवाइडीले जापानी बजारलाई लक्षित गरेर विकास गरेको सानो विद्युतीय कार ‘राको’ श्रीलंकामा सार्वजनिक भएको छ ।
बीवाइडीले श्रीलंकाली बजारमा राको १ करोड १४ लाख ५० हजार लंकान रुपी (३४ हजार ६१५ अमेरिकी डलर)मा बिक्री थालेको हो ।
जापानी ‘केई कार’ मापदण्ड अनुसार तयार गरिएको राकोको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ एमएम र उचाइ १८०० एमएम छ । यसमा ह्वीलबेस २५२० एमएम लामो पाउन सकिन्छ ।
राकोमा ४७ किलोवाट क्षमताको विद्युतीय मोटर छ । बीवाइडीले यसमा २२.४ र ३५.८४ किलोवाट आवरको दुई ब्याट्री विकल्प दिएको छ । यी ब्याट्रीको रेन्ज क्रमशः २१० र ३२० किलोमिटर रहेको डब्लूएलटीसीको टेस्टमा देखिएको छ ।
जापानमा सार्वजनिक भएको दुई महिनामै राकोको बुकिङ २ हजार युनिट नाघिसकेको बीवाइडीले जनाएको छ । यसको सुरूवाती मूल्य २१ लाख ४५ हजार येन तोकिएको छ ।
कम्पनीले मकाउमा पनि छिट्टै बिक्री थाल्ने जनाएको छ । राइट ह्याण्ड ड्राइभ बजारमा विस्तार हुन थालेकाले नेपालमा समेत यो मोडल छिट्टै आउने अनुमान गर्न सकिन्छ
नेपालमा बीवाइडी बजार हिस्सा ठूलो रहेको कारण राकोप्रति पनि चासो बढ्न सक्छ । विशेषगरी काठमाडौं जस्ता सहरी क्षेत्रमा सानो आकार, राम्रो रेन्ज र विद्युतीय प्रविधिका कारण यो उपयोगी बन्न सक्ने देखिन्छ ।

