कारमा चाँडै प्रयोग हुने १० टेक्नोलोजी

काठमाडौं । सन् २०१० पछि अटोमोबाइल निर्माताको ध्यान नै टेक्नोलोजी विकासमा केन्द्रित देखिन्छ । त्यसमा पनि विद्युतीय कारको खोज, उत्पादन र प्रयोग बढेसँगै टेकमा आधारित फिचरहरू अटोमोबाइलमा धेरै प्रयोग हुन थालेको हो ।

खासगरी न्यू इनर्जी भेहिकलको प्रयोग क्रमिक रूपमा बढ्दै जाँदा गाडी निर्माताहरूले नयाँ टेक्नोलोजी विकासमा ठूलो पैसा खनाए । त्यसको परिणाम स्वरुप अहिले नयाँ-नयाँ टेक फिचर आइरहेका छन् ।

सन् २०३० सम्ममा धेरै कार निर्माताहरूले ठूलो संख्यामा ईभी उत्पादन गर्ने घोषणा गरेका छन् । त्यसैलाई आधार बनाउँदा पनि आगामी दिनमा धेरै नयाँ टेक फिचर हाम्रो अगाडि आउने छन् ।

१. ब्याट्री टेक्नोलोजी : विद्युतीय कारहरूले अहिले लिथियम आयोन ब्याट्री प्रयोग गरिरहेका छन् । लिथियम ब्याट्रीको विकल्पमा वैज्ञानिकहरूले दिन रात नभनि काम गरिरहेको देखिन्छ । त्यसैले लिथियमको विकल्पमा सोलिड स्टेट ब्याट्री बजारमा ल्याउन धेरैले चासो देखाएका छन् । यसमा जापानी ब्राण्ड टोयोटाले निकै ठूलो सफलता समेत पाइसकेको जनाइएको छ ।

 

२. अटोनोमश ड्राइभिङ : चालकरहित ड्राइभिङको सपना विश्वले कल्पना गरेको १५ वर्ष भयो । अहिले चिनियाँ, जर्मन, जापानी होस् या अमेरिकी कार निर्माता सबैको ध्यान अटोनोमस ड्राइभिङमा छ । अहिल्यै बजारमा अटोनोमस ड्राइभिङको लागि आवश्यक पर्ने फिचरहरू दिइएको छ । अहिले एडासको लेभल २ सम्म पुगेको छ । एडास-५ पुग्दा कारमा चालकको अवश्यकता पर्दैन ।

३. कनेक्टेड कार टेक्नोलोजी : गाडीहरूलाई इन्टरनेटसँग जोडेर (भीटुएक्स) भेहिकल टु एभ्रिथिङ संचालन गर्ने दौड सुरू भएको छ । जसमा गाडी, सडक, पूर्वाधारदेखि होम अप्लाइन्सेससम्म कनेक्ट गर्ने योजनामा कम्पनीहरू छन् ।

४. हाइड्रोजन फ्युल सेल कार : हाइड्रोजनबाट चल्ने कार बन्न थालेको झण्डै एक दशक भयो । तर, यो टेक्नोलोजीले ठूलो बजार पाउन सकेको छैन । हाइड्रोजनबाट चल्ने कारहरू बून्य प्रदूषण र द्रुत इन्धन भर्न सक्षम हुनेछन् । निकट भविष्यमा कार र ठूला कमर्शियल गाडीहरू हाइड्रोजन फ्युलसेलमा आधारित हुने अनुमान गर्न सकिन्छ ।

५. सुरक्षा फिचर थप : सुरक्षा फिचरको रूपमा नयाँ नयाँ प्रविधि विकास भइरहेको छ । अहिले विकास भएका अटोमेटिक ब्रेकिङदेखि लेन किप एसिस्टसम्मका फिचरले ठूलो फाइदा पुगेको छ । त्यसैले कम्पनीहरू थप सुरक्षा फिचरको विकासमा लागि रहेका छन् ।

६. थ्रीडी प्रिन्टिङ : आजकाल गाडीको प्रोटोटाइप होस् वा पार्टपुर्जा बनाउन थ्रीडी प्रिन्टिङको प्रयोग बढ्दो छ । यसले अटोमोबाइलको उत्पादन लागत कम गर्न सहयोग पुग्छ ।

७. लाइट वेट कार : प्रविधिको विकासकै कारण हलुका तौलमा कारहरू बन्न सक्ने भएका छन् । कार्बन फाइबर र अन्य हलुका सामग्रीको प्रयोगले खासगरी पेट्रोलियम पदार्थबाट चल्ने कारको माइलेजमा व्यापक सुधार हुँदैछ । यो विषय ईभीमा पनि लागू हुनेछ ।

८. वायरलेस चार्जिङ : तपाईंले वायरलेस मोबाइल चार्जरको प्रयोग त गर्दै आउनु भएकै होला । आजकाल कारहरूमा पनि वायरलेस चार्जर पाउन सकिन्छ । अब भने कार नै वायरलेस चार्जरमा राखेर चार्ज गर्ने काम सुरू भएको छ । यसलाई थप बलियो बनाउन निर्माताहरू लागि परेका छन् ।

९. एआई र मेसिन लर्निङ : एआईको प्रयोग कारमा बढ्दै गएको छ । बढ्दो एआईको प्रयोगले धेरै कुरा कमाण्ड दिएर नै गर्न सकिन्छ । यसमा थप अध्ययन चलिरहेको छ ।

१०. शेयर्ड मोबिलिटी र स्मार्ट सिटी इन्टिग्रेसन : राइड शेयरिङ कम्पनीहरू र स्मार्ट सिटी पूर्वाधारसँग गाडीलाई जोड्न कम्पनीहरूले व्यापक काम गर्दै आएका छन् । यसले भविष्यमा ट्राफिक जाम र प्रदूषण कम गर्न सहयोग गर्छ ।


Back_to_top