२५ लाख मूल्यका कार खोज्नेलाई ५ विकल्प, दशैंमा किन्नेलाई यस्तो छ छुट

काठमाडौं । लामो लकडाउन र अर्थतन्त्रमा आएको मन्दीसँगै कारको खरिद बिक्रीमा कमी आइरहेको छ । तर, दशैं-तिहार लगायतका ठूला चाडपर्व नजिक आएकाले गाडीका शोरुममा ग्राहकहरुको चहल पहल सुरु भएको छ ।

यस्तोमा २५ लाख मूल्य कायम गरेर बिक्री वितरण हुँदै आएका गाडी किन्न चाहने ग्राहकलाई बजाजमा उपलब्ध ५ विकल्पका बारेमा हामी जानकारी दिन लागि रहेका छौं ।

नेपालमा अहिले करिब १८ लाख ९० हजार रुपैयाँ देखिनै कार किन्न सकिन्छ । तर, ती सबै कारमा तपाईले खोजेका फिचर उपलब्ध नहुँन सक्छन् । यस्तोमा पारिवारीक कारको छाप छाड्न सफल ५ कारलाई हामीले यहाँ उल्लेख गरेका छौं ।

हुन्डाईले बिक्री गर्दै आएको सेन्ट्रो, रेनोले बिक्री गर्दै आएको क्वीड, मारुती सुजुकीले बिक्री गर्दै आएको सेलेरियो र एसप्रेसो तथा टाटाले बिक्री गर्दै आएको टियागो २५ लाख रुपैयाँमा किन्न सकिने मोडल हुन् । यी कारको मिड र इन्ट्री लेवल भेरियन्ट २५ लाख रुपैयाँमा खरिद गर्न सकिन्छ ।

लक्ष्मी इन्टर कन्टिनेन्टलले बिक्री गर्दै आएको सेन्ट्रो मग्ना भेरियन्टको मूल्य २५ लाख ५६ हजार रुपैयाँ रहेको छ । तर, यसको २०२० मोडल बीएस ६ इन्जिनको मूल्य भने २६ लाख ५६ हजार तोकेर बिक्री हुँदै आएको छ । हुन्डाई सेन्ट्रो यहाँ उल्लेख भएका ५ कार मध्ये फोर सिलिण्डर इन्जिन भएको कार हो । यसमा कम्पनीले १.१ लिटर फोर सिलिण्ड इन्जिन दिएको छ ।

ग्राहकले अहिले सेन्ट्रो खरिद गर्दा २ लाख रुपैयाँसम्म छुट अफर पाउने छन् ।

टाटा टियागो टाटाको निकै सफल ह्याचव्याक कार हो । सिप्रदी ट्रेडिङले बिक्री वितरण गर्दै आएको टियागो एक्सई भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ । यसमा कम्पनीले १.२ लिटर थ्री सिलिण्डर इन्जिन दिएको छ ।

यसमा पनि ग्राहकले दशैं तिहार स्कीम अन्तर्गत २ लाख ५० हजारसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

रेनो क्वीड फेसलिफ्ट मोडल केही दिनअघि मात्रै नेपालमा बिक्री सुरु भएको मोडल हो । नेपालको लागि रेनोको आधिकारीक बिक्रेता एड्भान्स अटोमोवाइलले यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । यो कम्पनीको फुल अप्सन गाडी हो । यसमा १.० लिटर क्षमताको थ्री सिलिण्डर इन्जिन कार हो ।

यसमा कम्पनीले दशैं अफर अन्तर्गत ५० हजारसम्मको नगद छुट दिने जनाएको छ ।

२५ लाख मूल्य भएका कारको सूचीमा मारुती सुजुकीका दुई कार रहेका छन् । सिजी मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको सेलेरियो र एसप्रेसोका भीएक्सआई मोडलको मूल्य क्रमश २४ लाख ९९ हजार र २५ लाख ४८ हजार रुपैयाँ तोकिएको छ । यी दुबै कारमा १.० लिटर क्षमताको थ्री सिलिण्डर इन्जिन दिइएको छ ।

कम्पनीले ल्याएकाे दशैं अफरमा एस प्रेसोमा १ लाख ४० हजार नगद छुट दिएको छ भने सेलेरियोमा १ लाख ५० हजार नगद छुट दिएको छ ।


Back_to_top