मासिक ४० हजार किस्तामा पाइने ५ इलेक्ट्रीक एसयूभी

काठमाडौं । मासिक ४० हजार रुपैयाँभन्दा कममै विभिन्न ब्राण्डका ५ एसयूभी बजारमा उपलब्ध छन् । अहिले बजारमा बिक्री भइरहेको सफल मोडल एमजी एस फाइभदेखि बीवाइडी एटो टुसम्मका मोडल मासिक ४० हजारभन्दा कम किस्ता तिर्दा पुग्छन् ।

विद्युतीय कारको बढ्दो प्रयोग र कम्पनीहरू बीच मूल्यमा कडा प्रतिस्पर्धा हुँदा उपभोक्ताले राम्रै फाइदा पाएका छन् । कम मूल्यमा नै एसयूभी बिक्री गर्ने कम्पनीमा एमजी, बीवाइडी, केई, डोङफेङ नामी र टाटा ब्राण्ड छन् ।

गाडी किन्दा सुरूमा मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ । मूल्यको ६० प्रतिशत रकम ७ वर्षको लागि मासिक किस्ताको रूपमा बुझाउने गरी यी मोडल खरिद गर्न सकिन्छ ।

अहिले बजारमा ब्याजदर ७ प्रतिशतभन्दा पनि कम रेट अटो लोन पाउने अवस्था छ । सोही आधारमा हिसाब गर्दा यी ईभी मासिक ४० हजार हाराहारी किस्तामा पाइन्छ ।

धेरै बैंकले ७ वर्षसम्म परिवर्तन नहुने (फिक्स्ड) ब्याजदरमा पनि कर्जा सुविधा उपलब्ध गराएका छन् । यद्यपि, यस्तो कर्जाको ब्याजदर ९ देखि ११ प्रतिशतसम्म रहेको छ । परिवर्तनशील (फ्लोटिङ) ब्याजदरमा कर्जा लिने हो भने मासिक किस्ता केही कम हुन्छ । तर, यस्तो कर्जाको ब्याज बैंकको बेसरेट बढ्दा बढ्छ ।

यहाँ प्रस्तुत गरेका सबै मोडलको मासिक किस्ता ७ प्रतिशत ब्याजदर (फ्ला्टिङ) लाई आधार मानेर निकालेका हौं ।

टाटा पन्च ईभी

नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी टाटा पन्च ईभी हो । सिप्रदी ट्रेडिङले दुई भेरियन्टमा उपलब्ध गराएको पन्च ईभीको इम्पावर्ड भेरियन्टको मूल्य ३७ लाख ९९ हजार र इम्पावर्ड प्लस एस भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


माथि उल्लेखित शर्तमा पन्च ईभीको इम्पावर्ड भेरियन्ट किन्नेले डाउन पेमेन्ट बापत १५ लाख १९ हजार ६०० रुपैयाँ बुझाउनु पर्नेछ । कर्जा बापत २२ लाख ७९ हजार ४०० रुपैयाँ सुविधा लिएर ७ वर्षसम्म मासिक ३४ हजार ४०३ रुपैयाँ तिर्दा पुग्छ । टप भेरियन्ट किन्दा भने मासिक ३६ हजार २१४ रुपैयाँ तिर्नु पर्छ ।

पन्च ईभीमा ९८ किलोवाटको मोटर र ३५ किलोवाट आवरको ब्याट्री दिइएको छ ।

नामी भिगो

एमएडब्लू वृद्धिले नेपालमा बिक्री गर्दै आएको नामीको प्योर इलेक्ट्रीक मोडल भिगो पनि दुई भेरियन्टमा उपलब्ध छ । नामी भिगोको ई टु भेरियन्टको मूल्य ३८ लाख ९९ हजार र ई टु प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यसको सुरूवाती भेरियन्ट ई टु किन्नेले मूल्यको ४० प्रतिशतले हुन आउने १५ लाख ५९ हजार ६०० रुपैयाँ सुरूमा डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ । त्यसपछि नपुग रकम २३ लाख ३९ हजार ४०० रुपैयाँ कर्जा लिन पाइन्छ । उक्त कर्जा रकम ७ वर्षमा मासिक ३५ हजार ३०८ रुपैयाँको दरले तिर्न सकिन्छ । यसको टप भेरियन्ट किन्दा मासिक ३८ हजार २५ रुपैयाँ तिर्नु पर्छ ।

नामी भिगो एसयूभीमा ९९ किलोवाटको मोटर र ५१.८७ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

केई एक्सथ्री प्रो

लक्ष्मी इमोबिलिटी र गोल्छा ग्रुपले संयुक्त रूपमा बिक्री गर्दै आएको केई एक्सथ्री प्रो मोडल ३९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिन्छ । साइजका आधारमा यो पनि ४ मिटर माथिको एसयूभी हो ।

माथिकै जस्तो कर्जा अवधि र ब्याजदरमा केई एक्सथ्री प्रो किन्ने उपभोक्ताले मूल्यको ४० प्रतिशतले हुन आउने १५ लाख ९८ हजार ४०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी १३ लाख ९७ हजार ६०० रुपैयाँ कर्जा सुविधा पाउन सकिन्छ । यसरी लिएको कर्जा ७ वर्षसम्म मासिक रूपमा ३६ हजार १८७ रुपैयाँका दरले बुझाउँदा पुग्नेछ ।

केई एक्सथ्री प्रो मोडलमा ५३.६ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

बीवाइडी एटो टु

साइमेक्स इंकले केही महिना अगाडि मात्रै नेपाल ल्याएको एटो टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध एटो टु किन्ने उपभोक्ताले मूल्यको ४० प्रतिशतले हुन आउने १७ लाख ५९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ ।

डाउन पेमेन्टपछि नपुग २६ लाख ३९ हजार ४०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा लिन सक्नेछन् । यसरी लिएको कर्जा ७ वर्ष भित्र मासिक ३९ हजार ८३६ रुपैयाँको दरले बुझाउन सक्ने छन् ।

बीवाइडीले एटो टुमा ५१ किलोवाट आवरको ब्लेड ब्याट्री र १०० किलोवाट आवरको इलेक्ट्रीक मोटर दिएको छ ।

एमजी एस फाइभ

पारामाउन्ट मोटर्सले विभिन्न ३ भेरियन्टमा एस फाइभ उपलब्ध गराएको छ । त्यो मध्ये सुरूवाती भेरियन्ट कम्फर्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ । अर्को लग्जरी भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र लङ रेन्ज लग्जरीको मूल्य ५४ लाख ९९ हजार छ ।

त्यो मध्ये इन्ट्री भेरियन्ट मात्रै ४० हजारभन्दा कम मासिक किस्तामा पाउन सकिन्छ । एस फाइभ कम्फर्ट भेरियन्टको मूल्य ४३ लाख ९९ हजारको ४० प्रतिशतले हुन आउने १७ लाख ५९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ ।

डाउन पेमेन्टपछि नपुग २६ लाख ३९ हजार ४०० रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा सुविधा लिन सक्नेछन् । यसरी लिएको कर्जा ७ वर्ष भित्र मासिक ३९ हजार ८३६ रुपैयाँको दरले बुझाउन सकिन्छ । यसको लग्जरी भेरियन्ट किन्दा भने मासिक ४५ हजार २६९ रुपैयाँ तिर्नुपर्छ ।

एमजी एस फाइभको स्ट्याण्डर्ड मोडलमा ४९ किलोवाट आवर र लङ रेन्जमा ६२ किलोवाट आवरको ब्याट्री छ । मोटर भने सबै भेरियन्टमा ९९ किलोवाटको पाउन सकिन्छ ।


Back_to_top