नाडाको साधारण सभा मंसिर २२ र २३ गते हुने, नयाँ कार्यसमितिको निर्वाचनको तयारी

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालको ४५ औं साधारण सभा आगामी २२ र २३ गते हुने भएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा अशोज ८ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नाडाको ४५ औं साधारण सभामा निर्वाचको कार्यक्रम समेत भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ । नाडाको आगामी निर्वाचनमा हालका उपाध्यक्ष करण चौधरी र पूर्व उपाध्यक्ष ध्रुव थापा अध्यक्षका दावेदार रहेका छन् ।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।

साथै बैठकपछि अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ ।

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।


Back_to_top