काठमाडौं । सरकारले बैशाख १४ गतेबाट गाडीको आयात प्रतिवन्ध लगाएसँगै एक यूनिट पनि कम्बस्चन गाडीको प्रतीतपत्र (एलसी) खुल्न पाएको छैन । करिब ६ महिनादेखि अघोषित र ५ महिनादेखि घोषित आयात प्रतिबन्ध लागेको कारण बजारमा गाडी उपलब्ध छैन ।
‘गाडीको आयात रोकिएको ५ महिना भयो । कम्पनीहरुले ३ महिनाको दरमा प्लानिङ गरेर अर्डर गर्दै आएका थिए । एक्कासी लामो समय बन्द हुँदा सप्लाई पूर्णरुपमा विग्रिएको छ’, नाडा अध्यक्ष ध्रुव थापाले मेरोअटोसँग भने ।
बजारमा देखिएको तरलता अभाव, गाडी कर्जामा थप कडाई र महंगो पेट्रोलको मूल्य तथा ब्याजदरको कारण गाडी किन्ने योजना बनाएर बसेकाहरुले समेत आफ्नो योजना पछाडि धेकेलेको कारण बजारमा कारको विक्री ठप्प प्रायः भएको हो ।
अहिले बजारमा चल्तीका मोडलमा धेरै छनोट पाउन सक्ने अवस्था छैन । विशेषगरी, कलर र फिचर अप्सनमा धेरै मानिसको चासो हुने भएपनि अधिकांश चल्तीको मोडलमा छनोट पाउन सकिदैन । त्यसैगरी, धेरै चल्ने केही मोडलको एलसी धेरै खोलेर राखेको कारण अहिले ती गाडी भने बजारमा पाउने अवस्था रहेको छ ।
त्यसैले ग्राहकले केही छनोट पाउन सक्ने विभिन्न ब्राण्डका ६ मोडलका कार अहिले छन् । ती कारमा दशैं अघिसम्म ग्राहकले छनोट पाउन सक्ने देखिन्छ ।
१. मारुती सुजुकी ब्रेजा

मारुती सुजुकी ब्रेजा सफल सब फोर मिटर एसयूभी हो । सन् २०२१ मा करिब १ हजार ९०० यूनिट विक्री भएको ब्रेजा २०२२ मा पनि राम्रो संख्यामा आयात गरिएको थियो । त्यही धेरै आयातको कारण ब्रेजा स्टक पनि राम्रै संख्यामा थियो ।
कम्पनी स्रोतका अनुसार ब्रेजा किन्ने ग्राहकले अहिलेसम्म छनोट पाउने अवस्था छ । तर, अब भदौ १४ गतेपछि पनि आयात नखुल्ने हो भने ब्राजामा पनि छनोट बन्द हुनेछ ।
२. हुन्डाई अउरा

हुन्डाई अउरा कम्प्याक्ट सेडान कार हो । सेडान कार भएकै कारण यसमा ग्राहकले केही छनोट पाउने छन् । नेपालमा खस्कदो सेडान कारको बजारमा अउरा सफल मोडल भएको कारण आयात भएको थियो ।
तरलता अभावको कारण गाडी विक्रीमा उच्च गिरावट आएको कारण अउरा अहिले पनि बजारमा छानेर किन्न पाइने अवस्था छ । कम्पनी स्रोतका अनुसार अझै केही यूनिट अउरा किन्ने ग्राहकले छनोट पाउने छन् ।
३. किया सोनेट

किया सोनेट पनि सब फोर मिटर सेग्मेन्टमा सफल मोडल हो । सन् २०२० मा बजारमा आएको सोनेटले निकै राम्रो संख्यामा विक्री पाउँदै आएको छ । कियाले आयात प्रतिबन्ध लाग्नु केही दिनअघि मात्रै ठूलो परिमाणमा सोनेटको एलसी खोल्न सफल भएको कारण यसको उपलब्धता राम्रो रहेको छ ।
सोनेट किन्ने ग्राहकले सबै किसिमका छनोट पाउन सक्ने छन् । कियाको गाडी दशैंअघि किन्न खोज्नेले पाउन सक्ने अवस्था छ ।
४. टाटा नेक्सन

टाटा नेक्सन ईभीमा ग्राहकको बढ्दो आकर्षको कारण पेट्रोल र डिजेलबाट चल्ने नेक्सनको विक्रीमा सुस्तता छाएको थियो । विशेषगरी कम डाउन पेमेन्ट र सजिलै कर्जा सुविधा पाउने भएको कारण नेक्सन ईभीमा आकर्षण बढेको हो ।
टाटा नेक्सन ईभीको सफलतासँगै रेगुलर कम्बस्चन इन्जिन भएको नेक्सनको विक्री पनि बढेको थियो । त्यही वेला कम्पनीले मगाएको नेक्सन अहिले पनि स्टकमा रहेको कारण ग्राहकले अझै केही दिन छानेर किन्न पाउने अवस्था छ ।
५. मारुती सुजुकी सेलेरियो

मारुती सुजुकीको पारिवारीक कार सेलेरियो अहिले पनि बजारमा छानेर किन्न पाइने मोडलमा पर्छ । आयात प्रतिबन्ध लगाउनु केही समयअघि नेपाल आएको सेलेरियो आर्थिक संकटसँगै स्टकमा रहेको थियो ।
तरलता अभावको सिधा असर साना कार किन्ने मानिसको आयामा पर्ने भएको कारण बजारमा खासै उत्साहजनक विक्री पाउन सकेको थिएन । दशैं अघिसम्म सेलेरियो किन्ने ग्राहकले छनोट गर्न पाउने देखिन्छ ।
६. हुन्डाई इलाइट आई २०

नयाँ जेनेरेशन आई २० मोडल किन्न चाहने ग्राहकले अहिले पनि राम्रो छनोट पाउने छन् । प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आएको सिथिलता र बैंकले कर्जा लगानी नगर्दा आई २० स्टकमा रहेको कम्पनी स्रोतको भनाई ।
अहिले केही यूनिट आई २० उपलब्ध रहेको कारण ग्राहकले कलर र अप्सन छनोट सुविधा पाउने अवस्था रहेको बताइन्छ । यदि आयात नखोल्ने र नयाँ गाडी ल्याउन नसक्ने हो भने भदौ लागेपनि आई २० मा पनि छनोट उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

