काठमाडौं । नेपाली बजारमा नयाँ मोडलका कार आउने क्रम जारी रहेको छ । चाडपर्व सकिएसँगै सुस्त बनेको बजारमा केही चहलपहल ल्याउन विभिन्न ब्राण्डले नयाँ कार ल्याउने प्रक्रिया सुरु गरेका छन् ।
अहिले नयाँ कारको प्रक्रियामा टाटा, महिन्द्रा, किया र एमजी रहेका छन् । त्यसोत हुन्डाईले आयोनीक ५ र टाटाले टिगोर इभी नेपाल ल्याइसकेका छन् । अब यी बाहेक थप नयाँ मोडल नेपाली बजारमा आउन लागेका हुन् ।
टाटाले आफ्नो पहिलो माइक्रो एसयूभी पन्च, एमजीले फेसलिफ्ट जेडएस इभी र एस्टर, कियाले इभी ६ र कारेन्स तथा महिन्द्राले एक्सयूभी ७०० नेपाली बजारमा ल्याउने तयारी गरेका छन् । यी सबै गाडी नेपाली नयाँ वर्षको अवशर पारेर बजारमा आउने अपेक्षा गरिएको छ ।

भारतीय बजारमा निकै सफल भइसकेको टाटा पन्च नेपालमा चलिरहेको तरलता (लगानी योग्य रकम) अभावको कारण केही ढिलोगरी नेपाल आउन लागेको हो । निकै आधुनिक फिचर र क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएसँगै पन्चको विक्री भारतमा पनि आकाशिएको हो । यस्तोमा सिप्रदी ट्रेडिङले नेपाल ल्याउने पन्चले यहाँ पनि राम्रो बजार पाउने अपेक्षा गर्न सकिन्छ ।
टाटा पन्चमा १.२ लिटर क्षमताको नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । भने हर्मनको साउन्ड सिस्टम, फ्लोटीङ टच स्कृन, मल्टी फङ्गसनल स्टेरिङ ह्वील जस्ता फिचर यसमा पाउन सकिन्छ ।
एमजीको जेडएस इभी मार्चबाट विक्री सुरु हुने भएको छ । यसअघि विक्री हुँदै आएको मोडलको तुलनामा नयाँ जेडएस इभीको व्याट्री ठूलो प्रयोग गरिएको छ । यसअघि एउटा मात्रै अप्सनमा व्याट्री उपलब्ध थियो भने अब दुई व्याट्री अप्सनमा उपलब्ध हुने छ । एमजीले फेसलिफ्ट जेडएसमा ५१ किलोवाट आवर र ७३ किलोवाट आवरको व्याट्री दिइएको छ । यसको रेन्ज पनि बढेर ५०० किलोमिटरसम्म पुगेको छ ।

साथै, पारामाउन्ट मोटर्सले भा रतमा बनेको नयाँ एसयूभी एस्टर पनि नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले यसअघि भारतमा बनेको हेक्टर नेपालमा विक्री गर्दै आएको छ । यस्तोमा एस्टर पनि चाँडै नेपाल आउने अपेक्षा गरिएको छ ।

कियाले पनि दुई नयाँ मोडल नेपाल ल्याउने तयारी थालेको छ । कन्टिनेन्टल ट्रेडिङले इलेक्ट्रीक कार इभी ६ र भारतमा उत्पादन भएको कारेन्स नेपाल ल्याउने तयारी थालेको छ । इभी ६ अर्को महिनासम्म नेपाल आउने कम्पनीले जनाएको छ । इभी ६ को जिटीलाईन भेरियन्ट नेपाल आउने छ । कम्पनीले नेपाल ल्याउने जिटी लाइन मोडल एक पटकको फुल चार्जमा ५०० किलोमिटर रेन्ज दिन सक्षम रहेको छ । यसमा ७७.४ किलोवाट आवरको व्याट्री दिइएको छ ।

किया कारेन्स ६ र ७ सिट अप्सनमा आउने छ । भारतमा ४ दिनअघि मात्रै सार्वजनिक भएको कारेन्स पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहने छ ।

महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट प्रालिले नयाँ एसयूभी एक्सयूभी ७०० नेपाल ल्याउने तयारी गरिरहेको छ । सम्भवत चैत अन्तिमसम्म नेपाल आउने अपेक्षा गरिएको एक्सयूभी ७०० मा २.० लिटर क्षमताको डिजेल र २.० लिटर क्षमताको पेट्रोल इन्जिन रहेको छ ।



